१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

न्यूजिल्याण्डमा यसरी भयो कोरोना नियन्त्रण (एक नेपालीको अनुभव)


-परिस्था आचार्य

न्यूजिल्याण्डले कोरोना भाइरसबाट बाँच्नभन्दा पहिला आफ्ना नागरिकलाई नैतिकता, जवाफदेहिता र अनुशासन सिकाएको रहेछ । सन् २०२० नयाँ वर्ष मनाइरहँदा यदाकदा सुनिँदै थियो कि चीनमा कोरोना नामको भाइरस फैलिँदै छ । सबै राष्ट्रहरु नयाँवर्षकै रमझममा थिए । यता म एक नेपाली । बिदेशिएको तीन वर्ष पुगिसकेको थियो । विवाहलगतै मुलुक छाडेकी म भर्खर पहिलो सन्तानको आमा बनेकी थिएँ ।

सुत्केरी स्याहारका लागि म माइती देश र माइतीघर जाने तयारीमा थिएँ । त्यसका लागि श्रीमानले मलाई ठीक दुई हप्तापछिको टिकट बनाइदिने हुनुभएको थियो तर मेरो सोच चार हप्तापछि जाने भयो । केही उपहारका लागि सपिङ गर्नका निम्ति समय मागेकी थिएँ । त्यसलगतै न्यूजिल्याण्डमा पनि कोरोना संक्रमण भित्रिएको समाचार आयो । मन अब भने भयभित हुन थाल्यो । उता नेपाली अनलाइन मिडियामा समाचार आउथ्यो कि कोरोनाको संक्रमण बढीभन्दा बढी बच्चा र बृद्धमा हुन्छ । त्यसपछि त मनमा चिसो पस्न थाल्यो ।

काखमा ६ महिनाकी छोरी थिइन् । आज १ भोलि २ गन्दागन्दै संक्रमणको संख्या ४०–५० देखिन थाल्यो । करिब एक दुई हप्ताको अन्तरालमा संक्रमण संख्या १०० नै पुग्यो । यहाँका प्रधानमन्त्रीले सूचना जारी गरिसकेका थिए कि १०० जनामा संक्रमण पुग्नासाथ देश पुरै आपतकालीन रुपमा केही समयको लागि लकडाउन गरिनेछ । मेरो नेपाल जाने तयारी रोकियो । टिकट काट्नुभन्दा अगाडि देश आपतकालिन रुपमा ४ हप्ताको लागि बन्द भयो । अत्यावश्यक सुविधामा सरकारले कुनै पनि कमी नगर्ने सुचना दिएको थियो तर सरकारको नियम उल्लङघन गर्नेलाई भने जरीवाना पनि तोकिएको थियो । यो देश विकसित र यहाँका नागरिक सचेत पनि छन् ।

त्यसैले त देश विकासले भरिपूर्ण रहेछ र त्यही विकासलाई पछ्याउँदै मजस्ता लाखौँ नेपाली परदेशिएका रहेछौँ । जब सरकारले सूचना निकाल्यो कोही पनि नागरिकले त्यसको उल्लङ्घन गरेनन् । देशमा खाद्यान्नका सुपरमार्केट अस्पताल र बाँकी अत्यावश्यक कुराको निम्ति सरकारले आफैँ घरसम्म पुर्याउने सम्मको व्यवस्था गरेको थियो र केही नागरिक आफैँ खरीद गर्न जानुपर्दथ्यो । शुरुमा केही दिनमा त हामिलाई घरबाट निस्कन नै डर लाग्यो । हामीले परिवारका सदस्यलाई पनि घरबाट कतै जान दिएनाैँ ।

सामाजिक सञ्जालमा नै पोस्ट गर्यौ कि कोहि मेरो घर नआइदिनुहोला । कोरोनाको डर नहटेसम्म भनेर तर यो देशमा त्यसो गर्न जरुरी नै रहेनछ । आफुलाई सुरक्षित गराउनु आफ्नो देशका नागरिकलाई सुरक्षित गराउन र सिङ्गो देशलाइ नै सुरक्षित गराउन सबै देशका एकएक नागरिक लागिपर्ने रहेछन् । जब म पाँचौ दिन सुपरमार्केटमा निस्केँ । अनि थाहा भयो कि देशमा कति सचेतना छ । यहाँका सभ्य नागरिकले पालना गरेको अनुशासन अत्यावश्यक काम नपरी कोही पनि घरबाट निस्केका छैनन् ।

निस्कनै परेपनि एउटा गाडीमा एउटा परिवारको एक सदस्य सुपरमार्केटमा सरकारले तोकेको मापदण्डअनुसारको एकअर्का बीचको सामाजिक दुरी र सरसफाइ तथा एकअर्काप्रतिको स्वास्थ्य सम्मान । अहो यो देखेर त लाग्यो कि देश जस्तोसुकै भएपनि देशमा बस्ने नागरिक सचेत छन् भने कुनै पनि समस्यासँग लड्ने आँट आउँदोरहेछ । विभिन्न देशमा कोरोनाको संक्रमण तिव्र रुपमा बढेको समाचार सुन्दा शरीर सिरिङ्ग हुन्थ्यो । तर जब जब यो देशको समाचार सुन्थेँ ।

यसरी कोरोनाको संक्रमण त दिनहुँ यो देशमा पनि बढ्न थालेको थियो तर त्यही अनुसारले संक्रमितहरुमा सुधार पनि देखिँदै आएको थियो । करीब एक डेढ महिनाको अन्तरालमा ११५४ जनामा कोरोना पोजेटिभ भेटियो तर त्यही अन्तरालमा सञ्चो हुदै जाने संख्या ११३१ थियो र मृत्यु हुनेमा जम्मा २२ थिए । त्यो पनि सम्पूर्ण ६० वर्षभन्दा माथिका यसरी पुनः संक्रमण घट्दै जान थाल्यो र करीब डेढ दुई महिनाको अन्तरालमा देशमा कोरोनाको एक्टिभ केश जम्मा आज एउटा छ र सरकारले पुनः देश पहिलाको अवस्थामा आएको घोषणा गर्दैछ । यसरी मनमा एक खालको सन्तोष भएता पनि मनमा भए अझै गएको छैन किनकी उता मेरो घर परीवार अझ भनौ मेरो देश नै सङ्कटमा छ ।

म आफु मात्र सुरक्षित होइन मेरो देश सुरक्षित भएको हेर्न चाहन्छु । म नेपाली दाजुभाइ दिदीबहिनीलाई अनुरोध गर्न चाहन्छु कि आफू मात्र होइन अरुलाई पनि जोगाउनुपर्छ भनेर लागौँ । सामाजिक दुरी, सरसफाई र सचेतनामा ध्यान दिऔँ । म जस्ता करोडौ नेपाली आफ्नो देश फर्कन आतुर छन् । आफ्नो माइती, आफ्नो घर, आफ्नो जन्मभूमि फर्कन आतुर छन् । आफु बाँचौ, देश बचाऔँ कोरोना लाग्दा बित्तिकै मरिदैँन । मरिन्छ त मन भित्रको भयले । कोरोनाको औषधि अझै पत्ता लागेको छैन तर सामाजिक दुरी, अनुशासन, सचेतना र सरसफाइमा ध्यान दिऔं । आफू बाँचौ, अरुलाई पनि बचाऔं । जय देश जय नेपाल ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहीबार १३:३६