७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

काखे छोरी माइतीमा छाडेर कोरोना अस्पतालको नेतृत्व गर्दै डा शान्ति


– नारायण अधिकारी

२१ जेठ, चितवन । दुई बालबालिका माइतीमा छाडेर डा शान्ति भुर्तेल नेपालले यतिबेला भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको नेतृत्व गरिरहनुभएको छ । भरतपुर अस्पताल मातहतमा कोरोना अस्पताल आएपछि वैशाख १० गतेबाट सो अस्पतालको प्रमुख उहाँलाई तोकिएको छ । कपिलवस्तुको वाणगङ्गा स्थायी घर भएकी डा शान्तिको माइती भरतपुरमै छ । माइतीमा तीन वर्षीया छोरी आरभी र नौ वर्षीय छोरा आरभलाई राखेर उहाँ भने कोरोना अस्पतालमा खटिरहनुभएको छ । सासु–ससुराको निधनपछि श्रीमान् डा धिरेन्द्र नेपालको गत वर्ष निधन भएसँगै परिवार आफैँले सम्हाल्दै आउनुभएकी डा शान्ति परिवारको व्यवस्थापनसँगै आफ्नो जिम्मेवारीमा खटिरहनुभएको छ ।

कोरोना अस्पतालमा केही दिनयता स्वाब सङ्कलन गर्न छाडे पनि त्यहाँ रहेका चार सङ्क्रमितको चौबीसै घण्टाको व्यवस्थापन उहाँको थाप्लोमा छ । उनीहरुको खानपानदेखि स्वास्थ्योपचार मात्र होइन, त्यहाँ कार्यरत २७ कर्मचारीको खानपान र बसोबासको व्यवस्थापन उहाँ आफैँले गर्दै आउनुभएको छ । उच्च जोखिममा काम गर्नुपर्ने भए पनि सङ्क्रमित निको पार्न र सङ्क्रमण सार्नबाट रोक्न उहाँको व्यवस्थापन प्रभावकारी देखिन्छ । दैनिक सङ्क्रमितसँग टेलिफोन र भिडियोकलबाट उनीहरुको अवस्था उहाँले बुझ्ने गर्नुहुन्छ । कुनै समस्या भएमा तत्काल समाधान गर्ने उहाँको दैनिकीमा पर्दछ । उहाँले भन्नुभयो, “दिउँसो त म अस्पतालमै हुन्छु, साँझ–बिहान जतिबेला समस्या पर्छ त्यतिबेला यहाँ आउँछु ।”

खानादेखि औषधिसम्मको चाँजोपाँजो आफँैले मिलाउनुपर्ने भएकाले चौबीसै घण्टा ध्यान अस्पतालमा नै हुने उहाँले बताउनुभयो । डा शान्ति बिरामी थपिँदै गर्दा अस्पतालमा गर्ने व्यवस्थापनको पूर्वतयारीमा यतिबेला जुटिरहनुभएको छ । “गुनासो कसैको नआउने गरी व्यवस्थापनमा जुटेको छु”, उहाँले भन्नुभयो “सङ्क्रमितलाई सकेसम्म छिटो सङ्क्रमणमुक्त भएर फर्काउन सकियोस् भन्ने चाहना छ ।”

सङ्क्रमितसँग प्रत्यक्ष काम गर्ने स्वास्थ्यकर्मी र चिकित्सकलाई विश्व स्वास्थ्य सङ्गठनको निर्देशिकाअनुसार काम गराउन उहाँ तल्लीन हुनुहुन्छ । जसका कारण सङ्क्रमण उनीहरुलाई नफैलियोस् भन्ने उद्देश्यका साथ अस्पतालमा काम गरिरहेको उहाँले बताउनुभयो । उहाँले नेतृत्व गरेपछि अस्पतालले झण्डै ६०० जनालाई सेवा दिइसकेको छ । अस्पतालको नेतृत्व गरिरहँदा स्वास्थ्यकर्मी, कर्मचारी होटलको क्वारेन्टिनमा बसिरहेका छन् भने उहाँ अस्पतालकै आवासको क्वारेन्टिनमा बस्दै आउनुभएको थियो । दुई दिनअघि स्वाब परीक्षण गरी अहिले रातको समयमा छोराछोरीसँगै माइतमा बस्दै आउनुभएको छ ।

माइतीका हजुरआमा, बुबा, आमा, बहिनी ज्वाइँ सबैको साथ र सहयोगकै कारण आफू अस्पतालमा खट्न पाएको उहाँले बताउनुभयो । उहाँले सङ्क्रमण सर्न नपाओस् भनेर सावधानी अपनाएरै काम गरेको बताउनुभयो । “सङ्क्रमित थपिँदै गर्दा उहाँ फेरि क्वारेन्टिनमै बस्नुपर्ने छ”, उहाँले भन्नुभयो, “यो सङ्कटको समयमा पारिवारिक पीडा र समस्या पन्छाएर स्वास्थ्यकर्मी, चिकित्सक कार्यक्षेत्रमा खटिएनाैँ भने कसले उपचार गर्छ ।” एनेस्थेसियाका नवौ तहकी भुर्तेल छोटो समयमा विभिन्न अस्पतालको अनुभव हासिल गरिसक्नुभएको छ ।

उहाँले अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी, प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारी, डा प्रमोद पौडेल, मेट्रोन शान्ता भण्डारी, शान्ति सापकोटालगायत सम्पूर्ण कर्मचारीको साथ र सहयोगका कारण काम गर्न आफूलाई सहज भएको बताउनुभयो ।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट तिवारी डा भुर्तेलले कोरोना अस्पतालको व्यवस्थापन प्रभावकारी ढङ्गले गरिरहेको बताउनुभयो । अहिलेको परिस्थितिमा चिकित्सक, स्वास्थ्यकर्मीमा जिम्मेवारी उच्च भएको भन्दै सबैले आ–आफ्नो कर्तव्य पूरा गरेमा सङ्क्रमणबाट जोगिन सकिने उहाँको भनाइ छ । परिवारिक पीडा भुलेर राष्ट्र र जनताका लागि सबैले डा भुर्तेल झैँ जोखिम मोलेर राष्ट्र सेवामा समर्पित हुने बेला आएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार १७:०४