११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

परिवार सहित नेपाल आइन अभिनेत्री मनिषा कोइराला


२१ जेठ, काठमाडाैँ । चलचित्र अभिनेत्री मनिषा कोइराला आज रुपन्देहीको सीमानाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गर्नुभएको छ । परिवारका सदस्यसहित बेलहिया नाकाबाट स्वदेश प्रवेश गर्नुभएपछि उहाँ काठमाडौँ प्रस्थान गर्नुभएको बताइएको छ । उहाँसँंगै निजी गाडीमा परिवारका सदस्यसमेत रहेको बताइएको छ ।  भारतीय भूमिबाट नेपाल प्रवेश गर्नु पहिले सीमामा स्वास्थ्यकर्मीले अभिनेत्री कोइराला र उहाँको परिवारको स्वास्थ्य परीक्षण गरेका थिए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भन्नुभयो, ‘उहाँ बेलहिया नाकाबाट नेपाल आउनुभएको जानकारी पाएको हुँ तर कहाँ बस्नुभएको छ भन्ने जानकारी छैन ।’ नेपाली सेना पश्चिम पृतनाका प्रवक्ता प्रेम थापाले सेनालाई अभिनेत्री कोइरालासहितको परिवारको आगमन विषयमा कुनै जानकारी नभएको तर उहाँहरु काठमाडौँ प्रस्थान गरेको सूचना भने पाएको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले पनि कोइराला परिवार नेपाल प्रवेश गरेको पुष्टि गर्नुभयो ।
नेपाल भारत सीमा विवाद चलेका बेला नेपाली राष्ट्रियताका पक्षमा सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिले नेपालमा उहाँको प्रशंसा भइरहेको छ । कोइरालाले भारत र नेपाली चलचित्रमा दशकौँदेखि अभिनय गर्दै आउनुभएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार ०९:१२