१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

१० करोडको भ्रष्टाचार मुद्दा लागेका मालपोत अधिकृत जसले कार्यालयलाई कुखुराको खोर बनाए


२० जेठ, काठमाडाैँ । मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेका भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरमा कार्यरत मालपोत अधिकृत बद्रीराज ढकालले रामेछापमा हुँदा कार्यालयलाइ नै कुखुराको खोर बनाएको खुलेको छ ।

ढकालले रामेछापको मालपोत अधिकृत हुँदा कार्यालयलाइ नै कुखुराको खोर बनाएको तथ्य दैनिकीले यसअघि नै सार्वजनिक गरेको थियो । ढकालले कार्यालय प्रवेश गर्ने मूल ढोका नै बन्द गरेर कार्यालय परिसरमा कुखुरा पालन गरेका थिए । मालपोत कार्यालय रामेछापमा हाजिर भएदेखि नै कार्यालय परिसरमा कुखुरा पालन गरेका उनले स्थानीयवासीको भने चर्को बिरोध व्यहोरेका थिए ।

कुखुरा खुल्ला रुपमा छाडिएका  कारण कुखुराले दिनहुँ कार्यालय परिसर र कार्यकक्ष भित्रै फोहोर गर्दा त्यसको प्रत्यक्ष असर सेवाग्राही र स्वतः कर्मचारीहरुलाई पर्ने गरेको गुनासो समेत गरेका थिए ।

आयोगका अनुसार ढकालविरुद्ध विशेष अदालतमा दायर मुद्दामा अनाधिकृत रुपमा आर्जन गरेको रकमले साली नाता पर्ने एक महिलाको नाममा सवारी साधन खरिद गरेको र अष्ट्रेलिया बस्ने जेठान नाताका नवराज अर्यालका नाममा समेत पैसा जम्मा गरेको पाइएको छ ।

आयोगका अनुसार मालपोत अधिकृत ढकालले रु १४ करोड ५३ लाख ८२ लाख ४९८ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । अनुसन्धानका क्रममा ढकालको रु १० करोड २७ लाख ५८ हजार ४६१ अवैध पाइएको छ । मालपोत अधिकृत ढकाल २०५४ माघ १४ गते अस्थायी शिक्षकका रुपमा सार्वजनिक सेवामा प्रवेश गरी मालपोत कार्यालय लमजुङबाट खरिदारको पदमा प्रवेश  गरेका थिए ।

विसं २०५५ असोज १६ मा स्थायी नियुक्त प्राप्त गरी निजामती सेवामा प्रवेश गरी नासु र हाल शाखा अधिकृतका रुपमा कार्यरत थिए ।आयोगले मालपोत अधिकृत ढकाल, उहाँको श्रीमती सिर्जना अर्याल र जेठान नाताका नवराज अर्यालविरुद्ध विशेष अदालतमा मद्दा दायर गरेको छ ।

यो पनि पढ्नुहोस्

-शिक्षक हुँदै मालपोत अधिकृत बनेका बद्रीराज ढकालविरूद्ध १० करोडको भ्रष्टाचार मुद्दा

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलवार २१:३३