१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

मल बन्दरगाहमै अड्किँदा बर्खे बाली प्रभावित


१९ जेठ, वीरगञ्ज । कोरोना सङ्क्रमणका कारण भारतमा लामो समयसम्म जारी बन्दाबन्दी(लकडाउन)ले मजदूरको अभाव हुँदा भारतको कोलकत्ता बन्दरगाहमा १२ हजार ५०० मेट्रिक टन डिएपी मल दुई महिनादेखि थन्किएको छ । यसले गर्दा समयमै मल पाउन नसक्दा नेपालमा बर्खे धानबाली खेती प्रभावित हुने भएको छ । पच्चीस हजार मेट्रिक टन डिएपी मल आउनुपर्नेमा भारतमा जारी लकडाउनका कारण मजदूर नपाउँदा कोलकत्ता बन्दरगाहबाट मात्रै १२ हजार ५०० मेट्रिक टन डिएपी मल समयमा आउन नसकेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले जनाएको छ ।

सो रासायनिक मल डिएपी दुई महिना अगाडि नै आउनुपर्नेमा कोरोना जोखिमका कारण लकडाउन लागू भएपछि मजदूरको अभावमा कोलकत्ता बन्दरगाहमै थन्किएको लिमिटेडका प्रादेशिक प्रबन्धक गोविन्दकुमार पराजुलीले राससलाई बताउनुभयो । उहाँले भन्नुभयो,“ वीरगञ्जस्थित कार्यालयमा मौज्दात रहेको मलले किसानको मागलाई केही हदसम्म भए पनि पूर्ति गर्दै आइरहेको छ ।”

 

उहाँले बढी समस्या युरिया मलको भएको र ५० हजार मेट्रिक टन युरिया तेस्रो मुलुकबाट मगाउन कृषि सामग्री कम्पनी लिमिटेड प्रधान कार्यालय तथा कृषि मन्त्रालयबाट प्रयास भइरहेको र यसको लागि एलसीसमेत खोल्ने काम सम्पन्न भएकाले चाँडै मल आउने विश्वास व्यक्त गर्नुभयो । कार्यालयले चालू आर्थिक वर्ष २०७६/७७ को जेठ दोस्रो सातासम्म पर्सा जिल्लामा आफ्ना ९५ वटा डिलरमार्फत युरिया १० हजार ८४६ दशमलव ७०० मेट्रिकटन, डिएपी चार हजार ७६४ दशमलव ६०० मेट्रिक टन तथा पोटास १३३ दशमलव ५५० मेट्रिक टन बिक्री गरिसकेको छ ।

यसैगरी सो कार्यालयले सोही अवधिमा आफ्ना मातहतका कार्यालयलाई युरिया ५१ हजार ४६७ दशमलव १५० मेट्रिक टन, डिएपी ३० हजार ७८५ दशमलव ६०० मेट्रिक टन र पोटास दुई हजार ५४० दशमलव २५० मेट्रिक टन जिल्ला बाहिरका कार्यालयमा पठाएको छ । अहिले तेस्रो मुलुकबाट युरिया ५० हजार मेट्रिक टन र डिएपी २५ हजार मेट्रिक टन आउने क्रममा रहेकाले बर्खे बालीलाई मलको अभाव नहुने सो कार्यालयले दाबी गरेका छन् ।

यसैगरी मलको बिक्री गर्ने साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट ल्याउन लागिएको रासायनिक मल युरिया २१ हजार ५०० हजार मेट्रिक टन र डिएपी २५ हजार मेट्रिक टन कलकत्ता बन्दरगाहमा रोकिएको छ । सो रोकिएको रासायनिक मल बर्खे बालीका लागि आवश्यक पर्ने भएकाले कहिलेसम्म आउने सोको ठेगान नभएको सो कार्यालयका प्रमुख अमोद लामिछानेले बताउनुभयो । समयमा रासायनिक मल नआउँदा यस भेगमा गरिने मकै, धान, मसुरोलगायतका बर्खेबाली खेती प्रभावित हुने किसानको भनाइ छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार १८:१३