१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

एशियाली विकास बैंकले काेराेना रोकथाम तथा उपचारका लागि नेपाललाई ३० अर्ब सहयोग गर्ने


१९ जेठ, काठमाडाैँ । एशियाली विकास बैंकले नेपाललाई ३० अर्ब रुपैंया सहयोग गर्ने भएको छ । नेपालमा काेराेनाको रोकथाम तथा उपचारका लागि उक्त रकम सहयोग गर्न लागेको हो । सोमबार दिउँसो अर्थ मन्त्रालयमा भएको उक्त सम्झौतामा अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा अर्थसचिव शिशिरकुमार ढुंगाना र एशियाली विकास बैंकका कन्ट्रि डाइरेक्टर मुख्तोर खामुदखानोभले हस्ताक्षर गरेका छन् ।

एशियाली विकास बैंकले गरेको सहयोग नेपालको काेराेनाको उपचार र राहतमा महत्वपूर्ण भएको भन्दै यसले यो रोगविरुद्धको लडाइँमा ठूलो सहयोग गर्ने अर्थसचिव ढुंगानाले बताए । एडीबीका कन्ट्रि डाइरेक्टर मुख्तोरले आपतकालीन अवस्थामा एशियाली बिकास बैंक सरकारलाई जस्तोसुकै सहयोग गर्न समेत तयार भएको बताए ।

यो रकम एडीबीले सरकारलाई बजेटरी सपोर्टको रुपमा उपलब्ध गराएको हो । जनस्वास्थ्यलाई सुधार गर्ने, परीक्षण ल्याब तथा क्वारेन्टाइनको निर्माण र व्यवस्थापन तथा काेराेनाकाे नियन्त्रण र व्यवस्थापनसम्बन्धी अन्य जुनसुकै खर्चका लागि प्रयोग गर्न सकिने छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार १८:०७