७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

बजेट उत्साह जगाउने तर कार्यान्वयन नहुने टिप्पणी


१९ जेठ, काठमाडौँ । प्रतिपक्ष दलका सांसदले बजेटले जनतामा उत्साह जगाए पनि कार्यान्वयनमा चुनौती हुने शंका व्यक्त गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलमा नेपाली काँग्रेसकी अनिता देवकोटाले बजेट उत्साह जगाउने तर कार्यान्वयन नहुने प्रचारमुखी भएको तथा श्रमिक, निमुखा बालबालिका, महिला र बेरोजगार युवालाई समावेश गर्न नसकेको बताउनुभयो ।

राष्ट्रिय जनता पार्टीका शेखरकुमार सिंहले प्रदेश नं २ का जनताको शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीको विषय बजेटमा व्यवस्था भएअनुुसार कार्यान्वयन गर्न सरकारसमक्ष आग्रह गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रामचन्द्र राईले नेपालको वर्तमान आवश्यकतालाई सम्वोधन गर्ने गरी बजेट आएको टिप्पणी गर्नुभयो । नेकपाकै दीपा गुरुङले बजेटले विधिको शासन, समन्वय र सहकार्यलाई अझै व्यवहारमा लैजाने प्रतिबद्धता देखाएको बताउनुभयो । सोही दलका जगप्रसाद शर्माले २००८ सालमा स्थापना भएको दाङको टरीगाउँ विमानस्थलका लागि बजेटको व्यवस्था गर्न माग गर्नुभयो ।

नेकपाका खिमलाल भट्टराई,, नन्दा चपाईँ, तारामान स्वाँर, नरपति लुहार, महेश महरा, हरिराम चौधरी, ठगेन्द्रप्रकाश पुरी, शेरबहादुर कुँवर, नैनकला ओझा र कविता बोगटीले कोभिड–१९ ले आक्रान्त बनेका अवस्थामा बजेट समयसान्र्दभिक भएको बताउनुभयो । अर्थमन्त्री डा युवराज खतिवडाले सरकारका तर्फबाट यही जेठ १५ गते रु १४ खर्ब ७४ अर्ब ६४ करोड बराबरको आर्थिक वर्ष २०७७÷०७८ को बजेट प्रस्तुत गर्नुभएको थियो । बजेटमाथि आइतबारदेखि दलीय आधारमा सामान्य छलफल भएको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार १७:०९