१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

बजेट कार्यान्वयन गर्ने निकाय सक्रिय बनाउन सांसदहरूकाे माग


१९ जेठ, काठमाडौँ ।  राष्ट्रियसभाको आजको बैठकमा सांसदले काेराेना संक्रमणका कारण विश्व अर्थतन्त्र नै संकटमा परेका सन्दर्भमा आर्थिक वर्ष २०७७/०७८ को बजेट समय सान्दर्भिक भएको जनाउनु भएको छ । सभाको आजको वैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलमा भाग दिँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का देवेन्द्र दाहालले कोभिड–१९ का कारण स्वास्थ्य संकटबाट उत्पादन, व्यापार र लगानीसम्मको शृङ्खला प्रभावित भई विश्व अर्थतन्त्रमै संकुचन आउनेतर्फ बजेटले सबैलाई सचेत गराएको टिप्पणी गर्नुभयो ।

अर्थमन्त्री डा युवराज खतिवडाले यही जेठ १५ गते रु १४खर्ब ७४ अर्ब ६४ करोड बराबरको आव २०७७/०७८ को बजेट प्रस्तुत गर्नुभएको थियो । सभामा बजेटमाथि आइतबारदेखि दलीय आधारमा सामान्य छलफल भइरहेको छ । अर्थमन्त्री डा खतिवडाले आजै बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै हुनुहुन्छ । नेकपाका सुमनराज प्याकुरेलले कोभिड–१९ रोकथाम, वृद्धाभत्तालाई निरन्तरता, उद्योग सञ्चालन, सहकारी खेतीलगायतमा जोड दिइएका कारण बजेट उत्कृष्ट रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“सरकारले प्रस्तुत गरेको बजेटले वैदेशिक रोजगारीमा गएका युवालाई स्वदेशमै रोजगारीका लागि सहयोग पुर्याएको छ, त्यसैगरी तराई–मधेशलाई पनि बजेटले राम्रोसँग सम्बोधन गरेको छ, यी सकारात्मक पक्षका लागि सरकारप्रति हामी आभारी छौँ ।” सोही दलकी सुमित्रा बिसीले निजी विद्यालय सञ्चालन र विद्युतीय यातायातमा सहुलियतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेपाली काँग्रेसका रमेशजंग रायमाझीले गत वर्षको बजेट फ्रिज भएकाले बजेट कार्यान्वयन गर्ने निकायलाई सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,“नेपाली जनताको आशा र भरोसाअनुसार बजेट आउन नसकेको छैन, सरकारले कोभिड–१९ को समयमा रु ८० करोड बराबरको राहत वितरण गरेको छ भनिएको छ, यो राहत कसले पायो ?”

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार १३:३८