१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

आउँदो पुस्तालाई धूमपान र निकोटिनविहीन बनाउन लागाैँः मन्त्री ढकाल


१८ जेठ, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले आउँदो पुस्तालाई धूमपान र निकोटिनविहीन बनाउनुपर्नेमा जोड दिनुभएको छ । विश्व धूमपानरहित दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले धूमपान र निकोटिनविहीन गर्न आजकै दिनदेखि सबैआआफ्ना क्षेत्रबाट क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।

सन्देशमा उहाँले स्वस्थ र दीर्घायु बन्नका लागि सुर्तीजन्य पदार्थको सेवन र प्रयोग गर्न निरुत्साहित गर्ने, सेवनकर्तालाई त्याग गर्न अभिप्रेरित गर्ने र नवप्रवेशीलाई सेवन वा प्रयोग गर्ने अवसर नै नदिनु अथवा प्रयोग नगर्न भित्री मनदेखि अभिप्रेरित गर्नु हामी सबैको दायित्व भएको उल्लेख गर्नुभएको छ ।

विद्यमान ऐन, नियम र निर्देशिकाको पूर्ण पालना गरेमा सुर्तीजन्य उद्योगको चलाखीपूर्ण रणनीतिको चक्रमा कोही फस्न पाउँदैनन् र जो कोही पनि रोगी भई अकालमा मृत्युवरण गर्नु नपर्ने र कोही पनि सँगै बस्नेले खाएको चुरोटको धुवाँबाट हुने असर खप्नु नपर्ने उहाँले बताउनुभयो । सुर्तीजन्य उद्योगले गर्ने छलकपटपूर्ण प्रवद्र्धन र प्रलोभनकारी आकर्षक विज्ञापनबारे युवा समयमै सचेत भएमा धूमपान तथा निकोटिनबाट हुने असरबाट बच्न सकिने सन्देशमा उल्लेख गरिएको छ ।

आज विश्वभर सुर्तीजन्य उद्योगले गर्ने छलकपटपूर्ण प्रवद्र्धनबाट युवालाई बचाऔँ र उनीहरूलाई धूमपान तथा निकोटिनबाट हुने असरको रोकथाम गरौँ भन्ने नाराका साथ दिवस मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठनले प्रकाशन गरेको प्रतिवेदनअनुसार सुर्तीजन्य पदार्थको सेवन गर्नेहरूमा कोभिड–१९ को सङ्क्रमण गम्भीर देखिएको छ ।

सुर्तीजन्य पदार्थ सेवन गर्नेहरूको फोक्सोमा पहिले नै क्षति भइसकेको हुने हुँदा कोभिड–१९ ले फोक्सोलाई अझै बढी असर पु¥याउँछ । धूमपानका कारण विश्वभर वार्षिक ८० लाख मानिसको मृत्यु हुने गरेको छ । त्यसमध्ये ७० लाख प्रत्यक्ष सुर्तीजन्य पदार्थको सेवन र १२ लाख मानिससँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारणले मृत्यु हुने गर्छ ।

नेपालमा हरेक वर्ष करिब २७ हजार मानिसको मृत्यु धूमपान तथा सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । हरेक तीन नेपालीमध्ये एकजना धूमपान तथा सुर्तीजन्य पदार्थको अम्मली भएको देखिन्छ । सुर्तीजन्य पदार्थ मानव स्वास्थ्यका लागि अति घातक देखिन्छ भने दीर्घ जीर्ण रोग अर्बुद, मुटु रोग, दम, खोकी, मधुमेहजस्ता रोग लाग्नुको प्रमुख कारण पनि सुर्तीजन्य पदार्थ हो ।

धूमपान तथा सुर्तीजन्य पदार्थ त्याग गरेको २० मिनेटभित्र मुटुको धड्कनमा सुधार आई उच्च रक्तचाप नियन्त्रणमा आउँछ । १२ घण्टापछि रगतमा कार्बोनमोनोअक्साइडको मात्रा कम भई रक्तचाप सामान्य अवस्थामा फर्किन्छ । दुईदेखि १२ हप्तामा फोक्सोमा सुधार आई राम्रो काम गर्न थाल्छ । एकदेखि नौ महिनापछि खोक्ने र छिटो छिटो श्वास फेर्नेमा सुधार आउँछ ।

मन्त्री ढकालको सन्देशमा सुर्तीजन्य पदार्थ सेवन नियन्त्रण र नियमन गर्न विश्वव्यापीरुपमा ऐन, कानून र निर्देशिका जारी गरी आमजनतामा सुर्तीजन्य पदार्थ कहिल्यै नगर्न र गर्नेलाई यसको लतबाट छुटाउन विश्वव्यापी अभियान र कार्यक्रम भइरहेको उल्लेख गर्दै सुर्तीजन्य उद्योगले नवसेवनकर्ताहरूको सङ्ख्या वृद्धि गरी आफ्नो व्यवसाय दिगो बनाउन चलाखीपूर्ण बजारका रणनीति अवलम्बन गरेको पाइएको बताउनुभयो ।

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनका कार्यक्रमले सेवनकर्ताको सङ्ख्यामा उल्लेख्य कटौती हुँदै गएको अवस्थामा सुर्ती उद्योगले सधैँ नयाँ ग्राहक वा सेवनकर्ता पहिचान गर्ने, उनीहरूलाई आकर्षित गर्नेगरी विज्ञापन गर्ने गर्छ । यी प्रवद्र्धनका लागि मात्र रु ८० अर्ब डलरभन्दा बढी खर्च गर्ने गरेको देखिन्छ । ती विज्ञापन धेरैजसो नवयुवामा लक्षित भएको देखिन्छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आईतवार १७:५३