७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

सरकारले ल्याइएको बजेट सटिक र सान्दर्भिक रहेको छः सांसद


१८ जेठ, काठमाडौँ । राष्ट्रियसभाको बैठकमा सरकारको आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल शुरु भएको छ । आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।  छलफलमा सत्तारुढ सांसदले अहिलेको आवश्यकतालाई प्राथमिकता दिएर बजेट आएको बताउनुभयो । यसैगरी प्रतिपक्षी दलका सांसदले बजेटले प्राथमिकता र आवश्यकताका विषयलाई समेट्न नसकेको टिप्पणी गर्नुभयो ।

यही जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा खतिवडाले आगामी आव २०७७/७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट प्रस्तुत गर्नुभएको थियो । छलफलमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नारायणकाजी श्रेष्ठले राष्ट्रिय आवश्यकतालाई मध्यनजर गरी सरकारले ल्याइएको बजेट सटिक र सान्दर्भिक रहेको बताउनुभएको छ । उहाँले कोभिड–१९ पछिको अर्थतन्त्रलाई गतिशील बनाउने गरी बजेटले अहिलेको असामान्य परिस्थितिलाई सम्बोधन गरेको बताउनुभयो ।

स्वास्थ्य क्षेत्रमा ३२ प्रतिशत बजेट बृद्धि गरी स्वास्थ्य पूर्वाधार र जनशक्ति व्यवस्थापनजस्ता कामलाई प्राथमिकता दिनु निकै सकारात्मक भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले तीन वर्षभित्र सबै नेपालीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने र सबै प्रदेशमा सुविधासम्पन्न अत्याधुनिक अस्पताल सञ्चालन गर्नेजस्ता राम्रा कार्यक्रम बजेटमा समेटिएको छ भन्नुभयो । नेकपाका प्रवक्ता समेत रहनुभएका सांसद श्रेष्ठले रोजगारी सिर्जना तथा उत्पादन अभिवृद्धि गरी सामाजिक न्यायसहितको समाजवाद निर्माण गर्ने सिद्धान्तसहित बजेट आएको उल्लेख गर्नुभयो ।

बजेटका धेरै कार्यक्रम सकारात्मक हुँदाहुँदै पनि कोभिड–१९ पछि ‘गेम चेन्जर’ परियोजना र ‘भिजन’ प्रस्तुत हुनुपर्ने थियो त्यो अपुरो रहेको छ भन्नुभयो ।  सोही पार्टीका सांसद दिलकुमारी रावलले बजेट अहिलेको आवश्यकतानुरुप वस्तुपरक र यथार्थ रहेको हुँदा यसको कार्यान्वयन पक्षमा जोड दिनुभयो । उहाँले बजेटका सिद्धान्त र प्राथमिकता वर्तमान आवश्यकतासँग सान्दर्भिक रहेको बताउनुभयो । सोही पार्टीका विमला घिमिरेले सन्तुलित र समयानुकूल बजेट आएको हुँदा यसको कार्यान्वयनका लागि तीन तहको सरकार र प्रशासन यन्त्रको सक्रियता चाहिने खाँचो औँल्याउनुभयो ।

सोही पार्टीका भैरवसुन्दर श्रेष्ठले नेकपाको घोषणापत्रलाई सम्बोधन गर्ने गरी आएको र अहिलेको कोभिडको महामारी नियन्त्रणलाई बजेटले ध्यान दिएको बताउनुभयो । उहाँले कोभिडले थलिएको मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन र स्वास्थ्य क्षेत्रको आवश्यकता परिपूर्तिका लागि पनि बजेटले व्यवस्था गरेको उल्लेख गर्नुभयो । नेकपाका सांसद खिमकुमार विश्वकर्माले समय सान्दर्भिक दिगो विकास र सुशासनलाई बजेटले प्राथमिकता दिएको बताउनुभयो ।

नेपाली काँग्रेसका जितेन्द्रनारायण देवले बजेट समाजको कुन वर्गका लागि हो भनी प्रश्न गर्दै यो बजेट सुकिलामुकिला र टाइसुट लगाउनेका लागि मात्र भएको टिप्पणी गर्नुभयो । सर्वहारा, विपन्न र गरिब वर्गको लागि बजेटले प्राथमिकता नदिएको र भोका निमुखा गरिब जनताको पक्षमा बजेटले नबोलेको उहाँले टिप्पणी गर्नुभयो ।

राष्ट्रिय जनता पार्टीका मृगेन्द्रकुमारसिंह यादवले कृषि उत्पादन, स्वास्थ्य प्रवद्र्धनजस्ता विषयलाई अपेक्षित कार्यक्रम ल्याउन नसकेको बताउनुभयो । उहाँले सांसद विकास कोषलाई कोभिड–१९ महामारी नियन्त्रणका परिचालन गर्नुपर्नेमा बजेट कनिका छरिएसरह सबै क्षेत्रलाई विनियोजन गरिएको टिप्पणी गर्दै बजेटलाई रोग र भोकसँग जुध्ने गरी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

समाजवादी पार्टीका प्रमिला कुमारीले कोभिड–१९ को रोकथाम तथा अन्य सरुवाजन्य रोगको निरुपणका लागि बजेटले प्राथमिकता दिनु सकारात्मक भएको बताउनुभयो । उहाँले बजेटले वित्तीय सन्तुलन र क्षेत्रगत समानता कायम गर्न नसकेको र अहिलेको सङ्कटको अवस्थामा स्वास्थ्य र कृषिजस्ता विषयलाई बजेटले प्राथमिकता दिननसकेको बताउनुभयो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आईतवार १५:००