६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

भारतसँग औपचारिक वार्ताको मिति र मोडालिटी तय भइसकेको छैनः परराष्ट्रमन्त्री ज्ञवाली


१६ जेठ, काठमाडाैँ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सीमा समस्याको समाधानका लागि प्रयत्न गरिरहेको तर ठोस मिति तय भइनसकेको बताउनुभएको छ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा भारतसँग औपचारिक वार्ताको मिति र मोडालिटी तय भइनसकेको बताउनुभएको हो । भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र अतिक्रमण गरी सडक बनाएपछि नेपालले आफ्नो राजनीतिक नक्सा जारी गरेको थियो ।

भारतले नेपालले बनाएको नक्सा स्वीकार्य नहुने र कुटनीतिक संवादबाट समस्या समाधान गर्न आग्रह गरेपनि अहिले सम्म कुनै मिति र मोडालिटी तय नभएको मन्त्री ज्ञवालीले बताउनुभएको हो । उहाँले सरकार मिति र मोडालिटीको पर्खाइमा रहको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामी त हरबखत वार्ताबाटै समस्या समाधानका लागि प्रयत्नहरु ग्रिराखेका छौं । अहिले औपचारिक वार्ताको ठोस मिति वा मोडालिटी तय भइसकेको अवस्था छैन् । हामी निरन्तर टचमा छौं ।’ उहाँले भूमि फिर्ता गर्ने गरी नै वार्ताको तयारी सरकारले गरेको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो ‘भूमि फिर्ता गर्ने गरिनै हामीले यि सबै कुराहरु गरेका हौँ र वार्ता हामी गर्छाैँ, प्रतिक्षा गरिरहेका छौँ वार्ताको औपचारिक डेटको ।’उहाँले सरकार वार्ताबाटै समस्या समाधान गर्नका लागि पूर्ण प्रतिबद्ध रहेको समेत बताउनुभयो । उहाँले सिंगो देश एकबद्ध भएको अवस्थामा सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउन दृढताका साथ काम गरिराखेको र त्यसमा शंका नगर्न सांसदहरुलाई आग्रह गर्नुभएको थियो । संसदहरुले भने वार्ताको मिति र मोडालिटी अझैपनि तय हुन नसक्दा लामो समयसम्म भूमि फिर्ता हुन नसक्ने भन्दै गम्भिर हुन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार १८:३४