१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

कोरोना प्रभावित जनता र अर्थतन्त्रलाई जोगाउनु अहिलेको प्राथमिकता हाेः मन्त्री गुरुङ


१६ जेठ, पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कोरोनाको महामारीबाट जनता र अर्थतन्त्रलाई जोगाउनु अहिलेको प्राथमिकता भएको बताउनुभएको छ । प्रदेशसभामा प्रस्तुत विनियोजन विधेयक २०७७ सिद्धान्त तथा प्राथमिकताका सम्बन्धमा आजको बैठकमा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले कोरोना महामारीसँगै जनता र अर्थतन्त्रलाई जोगाउनेतर्फ लक्षित भई विनियोजन विधेयक सिद्धान्त तथा प्राथमिकतामा आएको उल्लेख गर्नुभयो ।

वर्तमान सरकार स्थिर सरकार भएको उल्लेख गर्दै उहाँले यसैको आभास दिने गरी कार्यक्रम अघि सारिएको बताउनुभयो । कोरोनालाई कसरी रोकथाम, नियन्त्रण र सङ्क्रमितको उपचारका साथै विदेशबाट आएकालाई व्यवस्थितरुपमा कसरी क्वारेन्टिनमा राख्नेजस्ता विषय अहिलेको प्रमुख प्राथमिकता भएको उहाँले बताउनुभयो । कोरोनाको कोष भनेर रु १५ करोड प्रदेश सरकारले राखेको जानकारी दिँदै उहाँले त्यसमा थप रु १५ करोड थपेर ३० करोड बनाइएको बताउनुभयो ।

हालसम्म कोषमा बाहिरबाट रु तीन करोड तीन लाख १२ हजार जम्मा भएको बताउँदै उहाँले कोषमा रु ११ करोड ७६ लाख ६७ हजार रहेको जानकारी दिनुभयो । कोष स्थापनाका अतिरिक्त रोकथाम नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि रु १५/१५ लाखका साथै राहत वितरणका लागि गाउँपालिकाका लागि रु पाँच लाख, नगरपालिकाका लागि रु १० लाख र पोखरा महानगरपालिकाका लागि रु एक करोड प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले ११ जिल्ला प्रशासन कार्यालयका लागि रु एक करोड ४५ लाख प्रदान गरिएको बताउनुभयो ।

बाँझो जमिन नराख्ने, उत्पादन वृद्धि गर्ने, उद्योगजन्य गतिविधि बढाउने विषयलाई प्राथमिकतामा राखिने उहाँको भनाइ छ । सङ्घले प्रस्तुत गरेको बजेटमा रु १० खर्बको स्रोत सङ्कलनको अनुमान ठूलो चुनौतीपूर्ण भएको बताउँदै मन्त्री गुरुङले यस अवस्थामा पनि रु पाँच खर्बको बजेट घाटा देखाइएको उल्लेख गर्नुभयो । प्रदेशको आर्थिक स्रोत सङ्घबाट प्राप्त हुने समानीकरण अनुदानबापत प्राप्त हुने रकम, राजश्व बाँडफाँट, समपूरक अनुदान र विशेष अनुदानबाट प्राप्त हुने रकम रहेको उहाँले बताउनुभयो । चालु वर्षका लागि तीन अर्बको राजश्व सङ्कलन हुने लक्ष्य राखिएकामा त्यसको आधामात्रै उठेको उहाँले जानकारी दिनुभयो ।

वर्तमानमा महत्वाकांक्षी बन्ने अवस्था नरहेको बताउँदै उहाँले विगतका कार्यक्रमको निरन्तरता केवल तिनीहरूलाई जोगाएर लैजानका लागि भएको स्पष्ट पार्नुभयो । अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्न विशेष भत्ताको व्यवस्था गरिएको बताउँदै उहाँले त्यसको कार्यविधि, मापदण्ड र प्रचलित कानुन अनुसार त्यसको दुरुपयोग हुन नदिने स्पष्ट पार्नुभयो । छलफलमा सदस्यहरूबाट प्राप्त सुझावलाई आगामी नीति तथा कार्यक्रम एवम् बजेटमा समेटिने उहाँले बताउनुभयो

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार १८:००