१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

एकैदिन १७० जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या १२१२ पुग्याे


१६ जेठ, काठमाडौँ । शुक्रबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी संख्यामा कोरोना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार शुक्रबार थप १७० जनामा संक्रमण देखिएको छ ।

जसमध्ये झापाका २७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै धरानमा भएको परीक्षणमा सप्तरीका ४ सहित ५ जना, नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका ३ र पर्साका ५ गरी ९ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । संक्रमित महिला रहेको र सर्लाही घर भइ अहिले पाटन अस्पतालमै रहेको उहाँले बताउनुभयो ।

यस्तै गण्डकी अस्पतालमा गरिएको परीक्षणमा म्याग्दीका १ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १० जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका ४ र नवलपरासीका २ सहित ६ जनामा पोजेटिभ देखिएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण्मा ८४ जनामा पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ जनामा पोजेटिभ देखिएको छ ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ३ हजार २ सय ३८ गरी अहिलेसम्म ६४ हजार १ सय ५४ जनाको नमुना परीक्षण भएको छ । यस्तै आरडिटी परीक्षण १ लाख ५ हजार ४ सय ७८ नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा आरडिटी विधिबाट ३ हजार ४ सय ४४ जनाको नमुना परीक्षण गरिएको छ ।

क्वारेन्टाइनमा रहनेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । शुक्रबार सम्म एक लाख नजिक क्वारेन्टाइनमा बस्नेहरुको संख्या छ । देशभरीका विभिन्न क्वारेन्टाइनमा ९९ हजार ३ सय ३६ जना क्वारेन्टाइनमा रहेका छन् । अहिले विभिन्न अस्पतालमा १ हजार जना कोरोना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार १६:३०