६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

आज लकडाउनको ६७ औँ दिन, यस्ताे छ काेराेनाकाे पछिल्लाे अपडेट


१६ जेठ, काठमाडाैँ । आज लकडाउनको ६७ दिन पुगेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गते देखि लकडाउन जारी गरेको छ । जेठ २० गते मंगलबार मध्यरात सम्मका लागि लकडाउनको अवधि तोकिएको छ । लामो समय सम्म लकडाउन भएपछि जनजीवन भने प्रभावित भएको छ । लकडाउनका कारण कामठमाडौँ उपत्यका भित्रका मुख्य सडकमा अत्यावस्यक ढुवानी तथा सेवाका सवारी साधन, स्वास्थ्यकर्मी, सञ्चारकर्मीका सवारीसाधन चलेका छन् ।

पछिल्लो केही दिन यता संक्रमितको संख्या बढ्दै गएपछि सुरक्षाकर्मीले सवारीसाधन सञ्चालनमा कडाई गरेको छ । प्रहरीले अत्यावस्यक सेवा र सवारी पास नलिई सवारी चलाउनेलाई नियन्त्रणमा लिई कारबाही गर्ने गरेको छ । मुख्य सडकमा मानिसहरुको आवागमन पनि न्यून देखिन्छ । उपत्यकाका भित्रि सडक क्षेत्रमा रहेका खाद्य सामग्री तथा तरकारीका पसलहरु खुलेका छन् । मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर अत्यावस्यक खाद्य सामग्री खरिद गरेको देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको प्रेस ब्रिफिङ अनुसार नेपालमा कुल १ हजार ४२ जनामा कोरोना भाइरस संक्रमण देखा परेको छ । जसमध्ये १ सय ८७ जना निको भएका छन भने ५ जनाको मृत्यु भएको छ । यस्तै कुल ६० हजार ९ सय १६ जनाको पीसीआर परिक्षण भएको छ । कुल ८६ हजार ५७ जना क्वारेन्टाइनमा रहेका छन भने ८ सय ५० जना आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार १३:३२