१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

बिक्री नभएपछि चितवनका किसानले तरकारीबारीमै लगाए ट्याक्टर


– नारायण अधिकारी

१६ जेठ, चितवन । लामो समयसम्म लकडाउन जारी रहँदा पूर्वी चितवनका किसानले लगाएको तरकारीसहित बारी जोताउन थालेका छन् । किसानले उत्पादन गरेको तरकारीले बजार नपाएपछि तरकारीसहित नै जोत्न शुरु गरेका हुन् । खैरहनी नगरपालिका वडा नं १ बहेराका किसान वाससुदेव सापकोटाले तरकारी बिक्री नभएपछि खेतमा ट्र्याक्टर लगाएर जोताउन बाध्य भएको बताउनुभयो । यसपटक लकडाउनले गर्दा बजार मूल्य नपाएपछि सापकोटाले भिन्डीबारी जोताउनुभएको हो । उहाँले सात कठ्ठा जग्गामा भिन्डी लगाउनुभएको थियो । वैशाख महिनामा उहाँले रु १२ हजारको मात्र भिन्डी बिक्री गरेको बताउनुभयो ।

त्यसयता उहाँको भिन्डीले बजार पाएको छैन । लकडाउन लम्बिँदा प्रायः धेरै किसान मारमा परेका छन् । सापकोटाले आफ्नो परिश्रमबाहेक सात कठ्ठामा रु ६५ हजार खर्च गरेर भिन्डी लगाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “शुरुमा केही बिक्री भयो, अहिले सित्तैमा लैजानसमेत मान्दैनन् ।” बोटमा छिप्याएर राख्नुभन्दा जोतेर अर्को बालीको तयारी गर्न उपयुक्त ठानेर तरकारीसहित बारी जोतेको उहाँको भनाइ छ । बाह्र वर्षअघि प्रतिकिलो रु दुईमा झरेपछि उहाँले त्यो बेला पनि तरकारीसहितको बारीमा ट्र्याक्टर लगाउनुभएको थियो ।

अर्का किसान कृष्णप्रसाद सापकोटाले २३ कठ्ठामा तरकारी खेती गर्दै आउनुभएको छ । त्यसमध्ये छ कठ्ठामा भिन्डी खेती गर्नुभएको छ । अन्य तरकारीले बजार पाए पनि भिन्डीले भने मूल्य नपाउँदा उहाँ निरास हुनुहुन्छ । भिन्डीसँगै जोडिएको जग्गामा मकैखेती गरेकाले एकैपटक जोत्ने तयारीमा उहाँ हुनुहुन्छ । विदेशबाट फर्केर स्वदेशमै तरकारी खेती शुरु गर्नुभएका कृष्ण यसैबाट छोराछोरी पढाउने, घर खर्च चलाउने गर्नुहुन्थ्यो ।

तरकारी खेती गर्ने किसानलाई उनीहरुले उत्पादन गरेको वस्तुको समर्थन मूल्य सरकारले तोक्नुपर्ने उहाँको भनाइ छ । उनीहरुले स्थानीय ग्रामीण ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थामार्फत तरकारी बिक्री गर्दै आएका छन् । सहकारीका अध्यक्ष पूर्णदत्त जैसी क्षेत्रीले लकडाउनका कारण तरकारी सङ्कलनको काम बन्द भएको बताउनुभयो । यहाँ उत्पादन भएको तरकारीको मुख्य बजार नारायणगढ, काठमाडाँै र पोखरा हो । अन्य जिल्ला लैजान अहिले समस्या छ सहकारीका अध्यक्ष जैसीले भन्नुभयो, “बिचौलिया हाबी हँुदा तरकारीले उचित मूल्य पाउन नसकेको हो ।”

सो क्षेत्रमा अहिले ३०० किसानले व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका छन् । सहकारीका अध्यक्ष जैसीका अनुसार खैरहनी वडा नं १ बाट मात्रै वार्षिक रु नौ करोडको तरकारी उत्पादन हुँदै आएको छ । यहाँ भिन्डी, बोडी, बन्दा, काउली, गोलभेँडालगायत तरकारी खेती हुँदै आएको छ । गत वर्ष पनि यस क्षेत्रका किसानले उत्पादन गरेको तराकारीले बजार नपाएपछि खेतमै जोताएका थिए ।

चैतेधानमा घाँटी मरुवा र डडुवा रोग

जिल्लाको पूर्वी क्षेत्रमा लगाइएको चैतेधानमा धानको घाँटी मरुवा र पात डडुवा रोग देखिएको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार खैरहनी र रत्ननगर नगरपालिकामा लगाइएको चैतेधानमा यस्तो समस्या देखिएको हो । कार्यालयका बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्रीका अनुसार सो क्षेत्रमा लगाइएको हर्दिनाथ–१ र पिआर धानमा समस्या देखिएको हो । यस धानमा गत वर्ष पनि यो समस्या देखिएको थियो । बातावरणअनुकूल हुन नसक्दा र रोग सहन सक्ने क्षमता कम भएको धानमा यो समस्या देखिने गरेको हो ।

अहिले खैरहनी नगरपालिकामा लगाइएको ५०० हेक्टर क्षेत्रफल र रत्ननगरमा फाट्टफुट्टरूपमा समस्या देखिएको उहाँले जानकारी दिनुभयो । ढुसीका कारण धानमा यो समस्या आउने उहाँले बताउनुभयो । अहिले लगाइएको धानमा रोग सहन सक्ने क्षमता कम हुने हुँदा रोगले सहजै आक्रमण गरेको उहाँको भनाइ छ । बाला निस्कनुअघि ढुसीनाषक विषादी छर्नुपर्ने हुन्छ । किसानमा ज्ञानको कमीका कारण विषादी नराख्दा समस्या भएको उहाँले जानकारी दिनुभयो ।

धानमा देखिएको समस्या समाधानका लागि कार्यालयले आकस्मिक बाली संरक्षण सेवाबाट काम गरिरहेको छ । कार्यालयका प्रमुख राजन ढकालले स्थानीय तहहरुसँग सहकार्य गरी रोग नियन्त्रणका लागि काम भइरहेको बताउनुभयो । स्थानीय तहमा रहेका कृषि शाखालाई यस विषयमा पूर्वजानकारी गराइएको भए पनि रोग लागेपछि नियन्त्रणका लागि प्रयोग गर्ने विषादी, मात्रा र विधिका बारेका किसानलाई जनाकारी गराउँदै आएको उहाँले जानकारी दिनुभयो । अहिले जिल्लामा छ हजार हेक्टरभन्दा बढीमा चैतेधान लगाइएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार ११:२२