८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

माथिल्लो दोर्दी ‘ए’ आयोजना निर्माणकाे काम अन्तिम चरणमा


१५ जेठ, लमजुङ । जलविद्युत्को ‘हव’ बन्दै गरेको लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित सो गाउँपालिका–६, ढोडेनीमा निर्माणाधीन आयोजना निर्माण कार्य ९७ प्रतिशत सम्पन्न भएकोे प्रवद्र्धक राजेन्द्र वस्तीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सबै काम सम्पन्न गरेर यतिबेला पावर हाउसको काम र केही बाँधको संचरनाको काम मात्र बाँकी रहेको छ । हामीले बन्दाबन्दीको बीचमा समेत कामलाई निरन्तरता दिँदै आएका छौंँ । उहाँले भन्नुभयो, हाल १८० जना कामदारबाट काम भइरहेको छ । गत चैत महिनाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य गरे पनि लकडाउनलगायत विविध कारणले निर्धारित समयमा काम सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ ।

विसं २०७१ असोजबाट निर्माण थालिएको गरी २०७४ सालमा निर्माण सक्नुपर्ने भए पनि समयमा नसकिँदा म्याद थप गरी गत चैत ३० गतेसम्म निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएको थियो । विनाशकारी भूकम्पपछिको अघोषित नाकाबन्दी र गत भदौमा आएको बाढीका कारण निर्माण निर्धारित समयमा सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ । आगामी असार महिनाभित्र आयोजनाको काम सम्पन्न गर्दै विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।

यसरी आयोजनाको काम बढ्दा लागत पनि रु ६७ करोड ६० लाख बढी लाग्ने अनुमान आयोजनाको रहेको छ । यस आयोजना निर्माणका क्रममा रु तीन अर्ब ९६ करोड लगानीमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहे पनि बढेर हाल रु चार अर्ब ६३ करोड ६० लाख लाग्ने आयोजनाले जनाएको छ । आयोजनाको लागत प्रतिमेगावाट रु १८ करोड ५४ लाख लाग्ने कम्पनीको अनुमान छ । आयोजनाबाट वार्षिक रु १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ ।

आयोजनाको बाँधस्थल लोदो खोलाबाट दुई हजार ७०० मिटर लामो भूमिगत सुरुङ र दुई हजार ७०० मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दी खोलाको पानीलाई विद्युत् गृहमा झारिने भएको छ । यस आयोजनामा १२ दशमलव ५ का एक/एकवटा गरी २५ मेगावाटको बिजुली उत्पादन हुने भएको छ । यस आयोजनाको बिजुली हिउँदको समयमा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा हुने गरी प्रवद्र्धक कम्पनी लिवर्टी र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार १३:३७