१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

रुकुमकाे चौरजहारी घटना प्रकरण : थप एक युवकको शव भेटियो


१४ जेठ, काठमाडाैँ । शनिबार नदीमा हाम फालेका ६ जनामध्ये चार जनाको शव फेला परेको छ । जाजरकोटको भेरी नगरपालिका-११ कुदुका लोकेन्द्र सुनारको शव घटनास्थलबाट करिब १० किलोमिटर तल कुदु नजिक भेरी नदी किनारमा फेला परेको हो । भेरी नगरपालिका वडा नम्वर ११ का गोविन्द शाही र वडा नम्बर ४ का सन्दीप विक अझै वेपत्ता छन् । उनीहरुको खोजीका लागि प्रहरीले गोताखोरको टोली परिचालन गरेको छ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ सोती गाउँका स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हाम फालेकामध्ये सोमबार जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. ४ का का १७ वर्षीय गणेश बुढा मगरको शव फेला परेको थियो। गत शनिबार बेलुका ५ बजेतिर मल्ल थरकी केटीलाई भगाएर ल्याउने भन्दै मृतक नवराज विकले थप १८ जना साथी लगेर रुकुमपश्चिमको चौरजहारी पुगेको समयमा घटना भएको थियो।

त्यहाँ जानेमध्ये केही युवा सल्यान र बाँके, जाजरकोट र रुकुम पश्चिम जिल्लाका समेत रहेको प्रहरीले जानकारी दिएको छ। रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी केसीले बेपत्ता युवाहरूको उद्धार र खोजी कार्यका लागि कर्णाली प्रदेशबाट ३० जना थप जनशक्ति आएको जानकारी दिएका छन्। घटना अनुसन्धान कार्यमा सहयोगका लागि संघीय प्रहरी इकाईबाट एक जना प्रहरी निरीक्षकको कमाण्डमा थप दुई जनाको टोली पनि यसअघि नै त्यहाँ पुगेको छ। गृह मन्त्रालयले पनि मंगलबार घटनाको निष्पक्ष छानबिन गर्न भन्दै एउटा समिति बनाएको छ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार १८:००