८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

भोला पोखरेल सिबिएको अध्यक्ष भएका छैनन्, विधानमा कार्यबाहकको समेत व्यवस्था छैन


१४ जेठ, काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन (सिबिए)को अध्यक्षमा भोला पोखरेल भन्दै मंगलबार साँझदेखि सामाजिक सञ्जाल रंगिएको छ । कतिपय सञ्चारमाध्यले कार्यबाहक अध्यक्ष भएको भनेर समाचार पनि लेखेका छन । यस्तैक्रम व्यापक रूपमा चलेपछि दैनिकीले भोला पोखरेल सिबिएको अध्यक्ष कसरी भए भनेर खोजी गरेको छ । दैनिकीको खोजमा पोखरेल सिबिएको उपाध्यक्षमात्र रहेको कानुनी आधारहरू समेत प्राप्त गरेको छ ।

निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन (सिबिए)का उपाध्यक्ष भोला पोखरेल । तस्बीरः गुगल खोज

चार वर्षअघि सिबिएको अध्यक्ष बन्न मरिहत्ते गर्दा बहुमत जुटाउन नसकेर उपाध्यक्षमा चित्त बुझाउन बाध्य भएका पोखरेल अध्यक्ष भएको भन्दै बधाइको ओइरोनै लागेको छ । दुइ महिना अघि सिबिएका अध्यक्ष पुण्य ढकाल उपसचिवमा बढुवा भएपछि पद स्वत रिक्त रहेको थियो । निजामति कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको विधान २०६९ को दफा २१ (च) अनुसार ढकाल उपसचिव बढुवा भएलगत्तै उनको पद स्वतः रिक्त भएको छ । तर दुइ महिनाअघि रिक्त भएको पदमा पोखरेलले दुइ महिनापछि मात्र अध्यक्ष भएको प्रचार गराएका छन ।

निजामति कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको विधान २०६९ मा भएको पद रिक्त हुने अवस्था ।

निजामति कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको विधान २०६९ को दफा २२ काे उपदफा  १ मा पदपूर्तीका लागि जुन ट्रेड युनियनले निर्णय गरेर पठाएको हो । उसैले सोही प्रक्रियाबाट प्रतिनिधि पठाउने व्यवस्था रहेको छ । विधानमा स्पष्ट रूपमा भनिएको छ ‘आधिकारिक ट्रेड युनियनकाे कुनै पद रिक्त भएमा जुन ट्रेड युनियनबाट प्रतिनिधित्व गरेको हो सोही युनियनबाट पूर्ति हुनेछ ।’ विधानले कार्यबाहकको पनि कल्पना गरेको देखिदैन । त्यसकारण भोला पोखरेलले अध्यक्षको अनुपस्थितिमा केही समय काम चलाए पनि न अध्यक्ष हुन न कार्यबाक अध्यक्ष नै । जुन कुरा विधानमै स्पष्ट रूपमा व्यख्या गरिएको छ ।

निजामति कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको विधान २०६९ मा भएको पद रिक्त भएपछि पदपूर्ति हुने व्यवस्था ।

हामीले विधानमा यस्तो स्पष्ट व्यवस्था देखपछि नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटासँग भोला पोखरेल सिबिएको  अध्यक्ष भएको हो भनेर जिज्ञासा राख्याैँ । दैनिकीको जिज्ञासामा देवकोटाले भने ‘यो सबै झुटो कुरा हो । अहिलेसम्म नेपाल निजामति कर्मचारी संगठनले सिबिएको अध्यक्षमा कसैको नाम मनोनयन गरेको छैन । जहाँसम्म भोला पोखरेलको कुरा छ उहाँले पनि अध्यक्ष बन्न चाहनु भयो भने यही संगठनको केन्द्रीय कमिटीको ५१ प्रतिशत सदस्यको विश्वास मत लिएर जानुपर्छ त्यसको पनि बिधि र प्रक्रिया छ । र संगठनले उहाँलाइ नै अध्यक्षमा मनोनयन गर्छ भन्ने पनि छैन । अध्यक्षको पद रिक्त भएकाले उहाँले अध्यक्षले गर्ने दैनिक काम गर्नसम्म सक्नुहुन्छ ।‘

विधान हेर्दा उपाध्यक्षलाइ बैठक बोलाउने अधिकार समेत दिएको छैन । त्यसकारण २०७३ जेठ १९ मा भएको कर्मचारीहरूको ट्रेड युनियनको निर्वाचनबाट निर्वाचित कार्यसमितिले अर्को अध्यक्षको मनोनयन नहुँदासम्म बैठक समेत गर्न सक्ने अवस्था देखिदैन । तर यही बीचमा उपाध्यक्ष पोखरेलको अध्यक्षको रूपमा बधाइ लिन भ्याइनभ्याइको अवस्थामा छन । पोखरेलको यस गतिबिधिले संगठनका नेताहरू भने चिडियाका छन । पोखरेलले बधाइ ग्रहण गर्न थालेपछि बबरमहलमा रहेको संगठनको केन्द्रीय कार्यालयमा लकडाउनकै समयमा पनि नेताहरू उपस्थित भएर यो प्रवृतिको हल कसरी खोज्ने भन्नेमा लागेका छन ।

निजामति सेवा एेनकाे दफा ५३ र निजामति सेवा नियमावलीको नियम ११७ (क) अनुसार पनि जुन संगठनले प्रतिनिधि तोकेको त्यही संगठनले अर्को प्रतिनिधि नपठाउँदासम्म उक्त पद रिक्त नै रहन्छ । कर्मचारी समायोजनका समयमा अन्य कर्मचारी संगठनका प्रतिनिधलाइ उचालेर सरकारविरूद्ध अान्दोलित गराएको अभियोग लागिरहेका पोखरेल अध्यक्ष होलान वा नहोला त्यो त नेपाल निजामति कर्मचारी संगठनले निर्णय नै गर्ला तर कार्यबाहक अध्यक्ष समेत हुने व्यवस्था कानुनी नभएको अवस्थामा अध्यक्ष भएको भन्दै बधाइ थाप्दै हिड्नुले  संगठनमा थप विवाद निम्त्याउने निश्चित छ ।

पोखरेलले समाजिक सञ्जालमा प्राप्त गरेका बधाइहरू यस्तो छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार १८:२७