१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

कोरोना संक्रमण र बालमैत्री शासन


-तिलोत्तम पौडेल

विश्व कोरोना संक्रमणबाट पीडित र प्रभावित छ । त्यसको असर सबै क्षेत्रमा पर्दै गईरहेको छ । नेपालमा पनि लकडाउन भएको २ महिना वितिसकेको छ । नेपाल सरकारका सबै तहका नीति तथा कार्यक्रमहरूमा बालमैत्री स्थानीय शासनलाई जोड दिँदै आईरहेको तथा बालबालिकाको विषयमा सबैको सरोकारको विषयको रूपमा स्थापित हुन लागेको परिवेशमा नोभल कोरोना भाइरसले थप संवेदनशिल बनाएको छ । विद्यालयहरू बन्दछन् । सबै बालबालिकामा इन्टरनेट अनलाईन सञ्चार माध्यमको पहुँच पुग्न सकेको छैन । सरकारको अहिलेको नीति तथा कार्यक्रममा पनि बालमैत्री स्थानीय शासनको विषयमा जति सम्बोधन हुनुपर्ने हो त्यति आएको देखिदैन ।

दिउसोमा काम गरी बेलुका खाना जुटाउने परिवारका बालबालिकाको स्थिति झनै जटिल छ । यसैको बीचमा हामीले समयमा नै बालबालिकाको लागि लगानी गर्नु पर्दछ र उनीहरूलाई लगानी गर्दा सबैलाई फाईदा पुग्छ भन्ने तर्फ थप ध्यान दिन जरुरी छ । कोरोना भाइरस (ऋइख्क्ष्म्(ज्ञढ) को सङ्क्रमण महामारीको रूपमा फैलिएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार २६ मेसम्म सङ्क्रमण २१५ देश/क्षेत्रका ५५८७१२९ व्यक्तिमा यो सङ्क्रमण देखा परेको र ३४७८६१ व्यक्तिको मुत्यु भइसकेको छ तर पनि निको भएर फर्कनेको संख्यामा पनि २३६५६४५ रहेको छ । यस महामारीबाट नेपाल पनि उच्च जोखिममा रहेको छ । नेपालमा ६८२ जना यसबाट सङ्क्रमित भइसकेका र ११२ जना निको भएर घर फर्केको अवस्था रहेको छ । मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार नेपालमा हालसम्म पर्सा, उदयपुर, बाँके, बर्दिया, कपिलबस्तु, बारा, धनुषा, रौतहट, नवलपरासी, झापा, सर्लाही, काठमाडौँ, महोत्तरी, काठमाडाैँ, रूपन्देहि र सप्तरी गरी १५ जिल्लाका २ महिना देखि १८ वर्षसम्मका ४६ जना भन्दा बढी बालबालिकामा कोराना सङ्क्रमण पुष्टि भएकोे छ । कोराना सङ्क्रमितहरू बढिरहेको अवस्थामा सङ्क्रमित बालबालिको सङ्ख्या पनि अझै बढ्न सक्ने सम्भावना रहन्छ ।

यो सङ्क्रमणबाट वयस्क समूहभन्दा बालबालिका उच्च जोखिममा रहेका छन् । महामारीको सङ्क्रमणसँगै बालबालिका परिवारबाट टाढा न्युनतम सेवा सुविधाहरू भएको केन्द्रमा आइसोलेसनमा रहनुपर्ने भएकाले सङ्क्रमित बालबालिकामा शारीरिक कष्ट सँगसँगै विभिन्न मानसिक समस्याहरू समेत देखा पर्न सक्छन् । यस्ता मानसिक समस्याको असर बालबालिकामा लामो अवधिसम्म देखिने हुन सक्छ । यस सङ्क्रमणबाट निको हुनको लागि मनोबल तथा रोगसँग लड्ने क्षमता प्रबल हुनुपर्ने भएकाले बालबालिकाको उपचारमा विशेष ध्यानदिनु पर्दछ । कोरोना भाइरस सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्डको पालना अन्तर्गत बुँदा नं. ६ मा गर्भवती महिला, १० वर्ष उमेरसम्मका बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको लागि अलग्गै व्यवस्था गर्ने भनिएता पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको अवस्था छैन ।

कोरोना जाँचका लागि छुट्टाइएका सम्पूर्ण अस्पतालहरू बालमैत्री कक्षको व्यवस्था गर्न जरुरी छ । बालबालिकाको लागि गरिने सबै कार्यहरू खर्च होइन लगानी हो भने सन्दर्भमा विगतदेखि बालमैत्री स्थानीय शासन मार्फत उठ्दै आएको छ । आपत विपतमा राज्यले सबैलाई सहयोग गरी अभिभावकत्व निर्वाह त गर्नुनै पर्दछ । तथापी दिनप्रतिदिन कोरोना संक्रमणमा बालबालिकाको संख्या बढ्दै जान थालेको परिस्थितिमा बाल मनोविज्ञानलाई बुझेर बालमैत्री क्वारेन्टाइन र आइसोलेसन कक्षाको व्यवस्थापन गर्न जरुरी छ । यसको लागि बालबालिका उच्च जोखिमका उमेर समूह भएकाले हरेक स्वास्थ्य सेवा र सामग्रीको कुनै कमी हुन नदिई पहिलो प्राथमिकताका साथ सङ्क्रमित बालबालिकाको उपचार गरिनुपर्दछ ।

बालबालिका रहने कोक्वारेन्टाइन र आइसोलेसन कक्ष, अस्पतालहरूमा अझै बढी सफा सुघ्घर हुनुका साथै नियमित अन्तरालमा गुणस्तर र पौष्टिक खाना, उमालेको पानीको व्यवस्थामा गरिनु पर्दछ । बालमनोविज्ञानलाई मिल्ने विभिन्न उमेर अनुसारका खेल, पुस्तक र अध्ययन सामग्री चित्रकारिता एवं सङ्गीतका सामग्रीका साथै मौसम अनुसारको लुगा तथा सजिलो ओछ्यानको व्यवस्था हुनुपर्छ । सङ्क्रमित किशोरीहरूका लागि महिनावारि समय अनुसारका आवश्यक सामग्री र अन्य लैङ्गिकमैत्री वातावरणको व्यवस्थालाई पनि उत्तिकै ध्यान दिन जरुरी छ ।

शारीरिक रूपमा अस्वस्थ भएका बालबालिकालाई पनि टेलिभिजनमार्फत खुशी बनाउन सकिने भएकाले, क्वारेन्टाइन र आइसोलेसन कक्षमा टेलिभिजनको व्यवस्था हुनुपर्छ । इन्टरनेटको माध्यमबाट सामाजीक सञ्जालमा निकटता, सिकाई र मनोरञ्जन सहित बालबालिकाको मनोबल बढाउन सकिने भएकाले सोको व्यवस्था बालबालिकालाई थप जोखिमबाट जोगाउन मद्धत पुग्दछ । कोरोना संक्रमणमा सामाजिक दुरी कायम गर्नु नै पर्ने भएकोले घरबाट टाढा रहँदा घरपरिवारका सम्झनाले बालबालिकाको मनोबल घट्ने सम्भावना रहन्छ । तसर्थ सामाजिक दुरी कायम गरी सङ्क्रमित बालबालिकालाई अभिभावसँग भेट्ने वातावरण निर्माण गरिनुपर्छ । अभिभावकसँग भेटघाट सम्भव नभए अभिभावकसँग नियमित सम्पर्कमा राखिनुपर्छ । सङ्क्रमित बालबालिकाको मानसिक स्वास्थ्य कायम राख्न र मनोबल बढाउनको लागि सङ्क्रमित बालबालिकालाई नियमित रूपमा विज्ञबाट मनोसमाजिक परामर्शको व्यवस्था गरिनुपर्छ ।

हामीले गर्ने कार्यलाई बालमैत्री बनाउन सङ्क्रमित बालबालिकाको उपचारकालागि संलग्न सम्पूर्ण स्वाथ्यकर्मीहरू र हेरचाहका लागि खटिएका व्यक्तिहरूले अनिवार्य रूपमा पालना गरिनुपर्ने गरी बालमैत्री आचरण तथा आचार संहिताको निर्माण र कार्यन्वयनका साथ पारिवारिक वातावरणको व्यवस्था उत्तिकै महत्वपूर्ण हुन्छ । हामी शान्ति र अहिंसाका पक्षपाती हौँ तथापी जस्तोसुकै विपतका घडीमा पनि बालबालिकामाथि हिंसा भएका घटनाहरू सुनिरहेका छौँ तसर्थ क्वारेन्टाइन र आइसोलेसन कक्षमा रहेका बालबालिकामाथि यौन दुव्र्यवहारका घटनाहरू विश्वका विभिन्न कुनाहरूबाट आइरहेको सन्दर्भमा नेपालमा यस्ता घटनाहरू हुन नदिन आवश्यक कदम चालिनु उत्तिकै जरुरी छ ।

बालबालिका, उनीहरूको परिवारका सदस्यको अनुमती बेगर नै उनीहरूको फोटो, नामहरू सार्वजनिक हुने गरेका समाचारहरू विश्वमा आईरहेको सन्दर्भमा हामीले बालबालिकाको गोपनीयताको हक हनन नहुने गरी बालबालिकाको स्वास्थ्य स्थितिको बारेमा सम्बन्धित निकायमा नियमित जानाकारी गराउनु पर्दछ । त्यसले गर्दा कोरोना संक्रमणको लागि आगामी योजना बनाउन थप सहयोग पुग्न सक्दछ । हुन त विगतमा लामो समयदेखि बाल संवेदनशीलताका कुरा उठ्दै आएको छ तथापी यस परिस्थितिमा थप बालबालिकासँग गरिने हरेक व्यवहार बालमैत्री र बालसंवेदनशील हुनुपर्दछ ।

यो सन्दर्भमा प्रत्येक पालिका, प्रदेश र संघीय सरकारमा रहेका बालबालिका सम्बन्धी विषयमा नियमित अनुभव आदानप्रदान गरिनु पर्दछ । यसमा अपाङ्गता भएका, अन्य रोगको उपचार गराईरहेका र काखका बालबालिका तथा महिनावारी भएका किशोरीहरू प्रति झनै थप संवेदनशील हुनुपर्दछ । हामीले कोरोना संक्रमण रोक्न, न्यूनीकरण गर्दा, बनाउने हरेक खालका नीति, निर्देशिका, कार्ययोजना, सूचना संम्प्रेषण, राहत वितरण, परीक्षणहरू सबै कार्य गर्दा बालअधिकार र बालमैत्री दृष्टिकोणले विचार गर्नसकेमा कोरोना संक्रमणबाट पीडित र प्रभावित बालबालिकालाई जोगाउँदै बालमैत्री स्थानीय शासन प्रबद्र्धन गर्न सक्दछौँ । आजको परिस्थितिलाई हेरेर भोलिको लागि सोच्दै तिनै तहमा योजना निर्माण गर्दा बालमैत्री र बाल संवेदनशील भई रकम विनियोजन गर्न जरुरी छ ।

त्यसरी विनियोजन गर्ने बजेट खर्च नभई बालबालिकाको लागि लगानी हो । बालबालिकाको लागि गरेको लगानीले प्रत्यक्ष रुपमा बालबालिकालाई फाईदा देखिए पनि यसले “समृद्ध नेपाल, सुखी नेपाली” भन्ने नारालाई कार्यन्वयन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । कोरोना तथा कुनै पनि प्रकार विपतको समयमा नेपाल सरकारका जिम्मेवार निकायसँगसँगै राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय बाल अधिकार परिषद्ले हामीले बनाएका क्वारेन्टाइनहरू, आइसोशन वाडहरू, कोरोना अस्पताल कत्तिको बालमैत्री छन् भन्ने कुराको अनुगमन गरी सम्बन्धित निकायलाई सुझाव दिनु जरुरी छ ।

बालबालिकाको क्षेत्रमा क्रियाशिल संघसंस्था सञ्जाल र विकासका साझेदार संस्थाहरूले यो विषयमा आवाज उठाईरहेका छन् । आ–आफ्नो नीति र बजेट कार्यक्रम भित्र रहेर सरकारले गरिरहेका कार्यमा स्वास्थ्य सामाग्री, खाद्यान्न, मनोविमर्श सेवा, रेडियो, टि.भि., सामाजिक सञ्जाल माध्यमबाट सचेतना अभिबृद्धि हटलाइन सेवा प्रदा गर्दै आईरहेका छन् । त्यसलाई आफू सुरक्षित रहदै स्थानीय तहसँग सहकार्यमा थप मजबुद्ध बनाउँदै कोरोना विरुद्ध लड्न सकेमा कोरोना कहर चलिरहदा पनि बालमैत्री स्थानीय शासनलाई प्रबद्र्धन गर्न सकिन्छ यसतर्फ सबैको ध्यान जान जरुरी छ ।
लेखकः बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चका संयोजक हुनुहुन्छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार ११:२९