१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कोरोनाको प्रभाव न्यून गर्न एसियाली विकास बैंकद्धारा नेपाललाई ३० अर्ब सहुलियत ऋण सहयाेग


१३ जेठ, काठमाडाैँ । एसियाली विकास बैंकले नेपालको सार्वजनिक स्वास्थ्य प्रणाली थप सुदृढ गर्न र कोरोनाका कारण गरिब वर्गमा पर्ने प्रतिकूल आर्थिक तथा सामाजिक प्रभावलाई न्यून गर्न झण्डै रु ३० अर्ब २५ करोड (२५ करोड अमेरिकी डलर) सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ ।

बैंकले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त परिमाणको सहुलियतपूर्ण ऋणले कोरोनाविरुद्ध लड्न थप सहयोग पुग्ने विश्वास गरिएको छ । यस सहुलियतपूर्ण ऋणबाट कोरोनाको महामारीसँग जुध्ने उपायलाई निरन्तरता दिन, गरिब र कमजोर वर्गका लागि सामाजिक संरक्षणका कार्यक्रम विस्तार गर्दै तीव्र आर्थिक सुधारको चरणलाई तय गर्न सहयोग पुग्ने बैंकका अध्यक्ष मात्सुगु असकावाले जानकारी दिनुभयो ।

कोरोनाका कारणले हाल सार्वजनिक स्वास्थ्यमा समस्या देखिएको र नेपालको समग्र सामाजिक र आर्थिक विकासमा उल्लेखनीय असर पार्ने आशङ्का गर्दै उहाँले समन्वयपूर्ण तरिकाले बैंकले सरकार र अन्य विकास साझेदारसँग मिलेर काम गर्नेसमेत उल्लेख गर्नुभयो । बैंकले उक्त सहयोग ‘एक्टिभ रेसपोन्स एण्ड एक्पेन्डिचर सपोर्ट’ (केरेस) कार्यक्रम अन्तर्गत प्रदान गर्न लागेको हो ।

उक्त रकमबाट सातै प्रदेशमा महिला र पुरुषका लागि छुट्टै वार्ड भएका कम्तीमा दुई लाख मानिसका लागि क्वारेन्टिन सुविधा प्रदान गर्न र प्रतिदिन कम्तिमा तीन हजार परीक्षणका लागि सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । यसैगरी कोरोनाको विपद्बाट अतिप्रभावित लघु साना र मझौला उद्योगमा अनुदानपूर्ण ऋण दिइने र त्यसमा कम्तिमा ३० प्रतिशत महिलाको नेतृत्वमा रहेका र कम्तिमा आधा पिछडिएको समुदायबाट आबद्धता भएको हुनुपर्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलवार २०:२८