१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

नुवाकोटमा पहिलो पटक कोरोना संक्रमित भेटिए


-प्रतिमा ढुंगाना

११ जेठ, काठमाडाैँ । नुवाकोटमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । नुवाकोटको ककनी गाउँपालिकाको वडा नम्बर ३ मा रहेका एक जना पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडाैँ महानगरपालिकाको समन्वयमा भएको कोरोना परीक्षणमा ती पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले ककनीमा रहेका एक जना पुरूषमा कोरोना संक्रमण भएको पुष्टि गर्नुभयो । उहाँले एक जनामा कोरोना पुष्टि भएको जानकारी दिँदै आवश्यक सावधानी अपनाउँदा अन्यमा त्यसको असर नपर्ने बताउनुभयो । कोरोना पुष्टि भएका पुरूषले काठमाडौँ महानगरपालिकाको फोहोरमैला व्यवस्थापन सम्बन्धी बैठकमा सहभागिता जनाएका थिए ।

ती पुरूषसँगै बैठकमा सहभागी नुवाकोटकै अन्य केही व्यक्तिको भने कोरोना संक्रमण नदेखिएको बुझिएको छ । कोरोना संक्रमण पुष्टि भएपछि ती पुरूषलाइ काठमाडौँ लैजाने तयारी गरिएको छ । कोरोना संक्रमित पुरूष राजनीतिमा सक्रिय रहेको बुझिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको औपचारिक पुष्टि गरेको छैन ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आईतवार १५:०२