११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

एक साथ कोरोना जित्ने १० युवालाई मुख्यमन्त्री पोखरेलले दिए बधाई


१० जेठ, वुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुटवलको प्रदेशस्तरीय कोराना विशेष अस्पतालबाट कोरोना भाइरस जितेर बिदा हुनुभएका युवालाई बधाई दिनुभएको छ । “बधाई स्वास्थालाभ गर्नुहुने सबैलाई । अनि बधाई छ उपचारमा संलग्न चिकित्सक, स्वास्थकर्मी र व्यवस्थापक र अन्य सहयोगी सबैलाई”, सामाजिक सञ्जालमार्फत मुख्यमन्त्रीले भन्नुभएको छ ।

बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराएका दश कोरोना संक्रमित आज निको भएर घर फर्किएका छन् । दुई हप्ता अगाडि कोरोना संक्रमण भएर अस्पतालको आइसोलेशनमा भर्ना भएका कपिलवस्तुका युवाहरु निको भएर घर फर्किएको बुुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा सुुदर्शन थापाले जानकारी दिनुभयो । “उहाँहरुमा आत्मबल बलियो भएका कारण उपचारमा सहज भयो ”, थापाले भन्नुभयो । निको हुने व्यक्ति १६ देखि ४० वर्ष उमेर समूहका छन् ।

भारतबाट लुुकिछिपी आएका युवामा संक्रमण देखिएको थियो । संक्रमितको लगातार दुुई कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । “कोरोनाबाट डराउनुपर्दैन । मनोबल उच्च राखे छिट्टै निको हुन्छ”, डा थापाले भन्नुभयो, यसबाट बच्न घरमै रहनु नै उत्तम हुन्छ ।”

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार २१:२६