दैनिकी

  • १० जेष्ठ २०७७, शनिबार १६:१८

बाबुरामको बर्बराहट सम्बद्ध केही बबुरा प्रश्न

-प्रा.डा. ऋषिराम शर्मा

भनिन्छ, पढेको मूर्ख नपढेको मूर्खभन्दा सयौँ गुना घातक हुन्छ ! बुढापाकाको यो आहान त्यसै बनेको होइन रहेछ ! यो कथन पढेलेखेका केहीमा लागू हुँदो हो, तर ती जति पनि पढेलेखेका यस्ता छन् , त्यस्ता सबैको पवित्र र भव्य धाम चाहिँ बाबुराम धाम नै हो र त्यसका मूल भट्ट तिनै भट्टराई हुन् कि भन्ने प्रशस्त आधार उहाँका समकालीन ट्विटका कर्कश चिर्बिराहट र बर्बराहटले आफै बकिरहेछन् ।

सुरुमा नेपाली काङ्ग्रेसबाट राजनीति सुरु गरेर विभिन्न घाट चहार्दै नेकपा माओवादीमा गई १७००० होनहार नेपाली जनता (सोझासाझा रोल्पाली र रुकुमेलीहरू र थुप्रै काङ्ग्रेस कार्यकर्ता समेत) को रगत बगाउने मुख्य सेयर होल्डर व्यक्ति माओवादीकै तर्फबाट प्रधानमन्त्री भै प्रचुर अवसर उपभोग गरे पछि र सो पार्टीको त्यतिबेलाको सेयरबजार डुब्दै गऐ पछि सहकर्मी कामरेड र क्रान्तिलाई धोका दिँदै सो पार्टीलाई लात हान्दै शक्तिहीन ‘नयाँ शक्ति’ नामको दल खोलेर गोर्खाली जनतालाई एउटा आँखो ( चुनाव चिन्ह ) देखाउँदै पुनः काङ्ग्रेसकै सहारामा चुनाव जित्ने महामानव(!) बाबुरामसँग म केही बबुरा प्रश्न लिएर हाजिर भएको छु ।

भूतपूर्व प्रधानमन्त्री बाबुराम भट्टराई ज्यू !
तपाईलाई अहिले कोरोनाका कारण जनताले दुख पाएकोमा खुबै दुख लागेको देखेर मलाई निकै खुसी लागेको छ । जनताको जिउ ज्यानको माया भन्ने कुरा पनि तपाईको प्राथमिकतामा पर्दो रहेछ भनेर दुनिया दङ्ग परिरहेछ ! यदि गोहीका आँसु होइनन् भने तपाईँका आखामा यस्ता आँसु बगेको राम्रै हो !

जनयुद्धमा मार्क्सवाद र माओवादको भाष्य घोकाउँदै सहिदको होलसेल खेती गरेर आफैले त्यो वादलाई चौबाटामा अलपत्र पारेर तपाईँले किन छाड्नु भयो ? क्रान्तिकालमा सँगै हिडेका आफ्ना सहकर्मीहरूलाई धोका दिएर बतुराउँदै किन हिड्नुभयो ? तपाई यो महामारी कालमा महामारीसँग जुद्धै गरेको सरकार गिराउन भन्दै अध्यादेशको कागजको बाघ बनाएर नाइटादेखिको बल लगाउँदै कहिले मधेशतिरबाट एकदर्जजन जति हुल बोकेर उफ्रँदै काठमाडौँ आई मिडियामा बर्बराउने, त्यसै क्रममा कहिले कुन टार त कहिले कुन चौरतिर धाउने, चियाउने र जुर्मुराउने काम समेत किन गर्नुभयो ? यसरी मच्चिएर नसके पछि जब नक्सा कान्ड पछि थच्चिनु भो त्यस पछि त तपाईको ट्विटे चिर्बिराहटको कर्कश स्वरको भोलुम एक्कासि किन बढ्न गयो भन्नेकुरो कुरो दुनियालाई थाहै छैन भनेर अझै पनि जनतालाई मूर्ख बनाउने सपना किन देख्दै हुनुहुन्छ ?

अनि तपाईँ अहिले जुम खोलेर भिडियो कन्फ्रेन्सिङ्को जो नाटक गर्दै हुनुहुन्छ, के त्यो ती आपतमा परेका व्यक्तिप्रतिको साँच्चै सहानुभूति हो त ? कि सरकार गिराउने भर्खरै तुहेको सपनाका फोहोरमा उम्रेको लेउ हो ? अथवा महामारीको भट्टामा यो सरकारलाई पोल्न सकिन्छ कि भन्ने अर्को झिँगे दाउ हो ? निकै जम्मजमाउँदै गरेको देखेर अहिले मान्छेहरू लाई तपाईप्रति दया लाग्न पो थालि सकेको छ त गाँठे !

अँ, कहिल्यै सरकारको रौँ पनि सुँघ्न नपाएको झै गरेर सरकारले यसो गर्नु पर्यो र उसो गर्नु पर्यो भनेर बडो भगवान् बन्न खोज्नु भएको छ नि ? आफू विद्रोही जनसरकार प्रमुख हुँदा जनताका मुक्तिका नाममा मुक्तिनाथ जस्ता सात्विक सरहरूको घाँटी रेटेर देखाएको राक्षसी चरित्र ढाकिन्छ भन्ने सोच्नु छ कि क्या हो ?

आफू राज्यकै प्रधानमन्त्री हुँदा आफैले विद्रोह कालमा अधमरा बनाएका तपाईका तत्कालीन विपक्षी सर्वसाधारण वा राज्यले डँडाल्नु भाँचेका र बेपत्ता पारेका तत्कालीन तपाईका पक्षका सर्वसाधारणको दुख र कष्ट हेर्ने तपाईका आँखामा मोतीबिन्दु भा को थियो कि जल बिन्दु ? त्यसबेला तपाईँले त्यस्ताको कति जनाको उद्धार गर्नु भो ? केही हिसाब किताब छ ? त्यसबेला त तपाईलाई राज्यको ल्याकत र क्षमता कति हुन्छ भन्ने त थाहा थियो होला नि ! अहिलेको महामारीमा तपाईले सरकारलाई सुझाव दिन वा जनताको टीठ लागेर त्यसो भन्नु भएको हो भन्ने दुनियाले बुझ्छन् भन्ने ठान्नु भाको छ कि क्या हो ? भारूराम र बाउरामको पोजिटिभ र पोजिटिभ तार जुधेर तपाईका यी ट्विट पड्केका हुन् भन्ने कसैलाई थाहा छैन भन्ने नठान्नु होला नि ?

म त अहिले कामरेड प्रचन्डको महानता सम्झेर तीनछक परिरहेछु । पातै पिच्छे पार्टी चहार्दै हिड्ने बानीराम जस्ता बाबुरामलाई बाह्र बाह्र वर्षसम्म सँगसँगै लिएर हिँड्न कति सकस परेको थियो होला, युद्धकालमा बाबुरामलाई श्रम शिविरमा राखेर कार्यवाही गरेको कुरो सुनेर काठमाडौँको मध्यम वर्गलाई निकै झोँक चल्थ्यो प्रचन्डप्रति ! आज पो थाहा हुँदै छ ! यस्ता व्यक्तिलाई थेगेको कुरो गिनिज बुकवालाले थाहा पाएको भए कामरेड प्रचन्डको नाम उहिल्यै गिनिज बुकमा चढिसक्थ्यो भन्ने पो लाग्न थाल्यो बा !

अँ, प्रधनमन्त्रीले सार्वभौम संसदमा उभिएर साठी वर्षदेखि छिमेकीले कब्जा गरेर बसेको र सत्तामा र सरकार प्रमुखकै हैसियतमा जब जोडदार रूपमा लुटिएको भूमि फिर्ता गरेरै छाड्ने वाचा गर्दै हुनुहुन्थ्यो त्यतिबेला सिङ्गो राष्ट्र जागेका बेला बिचरा एक्ला बाबुरामज्यूलाई त निद्रा पो लागेछ ! लुटिएको जमिन नक्सामा आउँदा अल्पनिद्रा लागेका उहाँलाई जमिन नै फिर्ता आयो भने चिरनिद्रा पो लाग्ने हो कि भन्ने भय पो लाग्न थाल्यो बा ! सरकार टिक्ने पीडाको तीतो ओकल्दै तत्कालै उहाँका ट्विटले राष्ट्रियताका मुखमा यसरी पिच्च थुकेको सन्दर्भले यही कुरा पुष्टि गर्छ “… लिपुनक्साको ब्याज भजाएर अकन्टक कुशासन चलाउने र देशलाई बर्बादीमा लैजाने देखियो ।“

तपाई प्रधानमन्त्री हुनु भो र जब मुस्ताङ म्याक्स नामको नेपाली गाडी चढ्नु भो, तपाईले केही गर्नुहोला भन्ने अलिकति आशाको भ्रमको त्यान्द्रो पलाएकै हो तर म्यक्सिमम भ्रष्टाचारीमा तपाईँकै चुलोकी चुलीले भ्रष्टाचारको चुली चुमेको चर्चा त्यतिबेलाका पर्चा र पत्रिका हेरेपछि त्यो त्यान्द्रो पनि चटक्क चुँडेकै हो । त्यसो त तपाईले जे विषय पढ्नु भो र त्यसको सदुपयोग जहाँजहाँ गर्नु भो त्यहाँ तपाई प्रशंसाका पात्र हुनुभएकै छ । काठमाडौका सडक चौडा त पार्नु भो तर छाती चौड पार्न सक्नु भएन । एउटा विद्वान इन्जिनियर तपाईले डिजाइन गर्नु भएको भन्ने सुनेको काठमाडौँ प्लाजा स्थित राष्ट्रिय वाणिज्य बैङक भवनको डिजाइनको प्राय तारिफ भै रहन्छ ।

हो, तपाईले पढेको विषय राष्ट्रको निर्माणका लागि हुनु पर्थ्यो तर तपाई भत्काउन मात्रै लाग्नु भयो ! भवन डिजाइनकर्ता तपाईले युद्धकालमा भवन भत्काउनु भो, संविधान बनाउन नसकी पहिलो संविधान सभा नै भत्काउनु भो ! संविधान निर्माण समितिको जिम्मेवारीमा बसेर संविधान बनि सकेपछि घोषणाका बेला दशगजामा पुगेर संविधान माथि नै ढुङ्गा वर्षाउनु भो ! आफैले बनाएको पार्टी भत्काउन नसकेर पार्टी नै छाडेर हिँड्नु भो, नयाँ शक्ति नामको लुरे पार्टी बनाउनु भो र उत्निखेरै भत्काउनु भो, यो भत्काउने क्रम अनवरत जारी छ र अहिले पूर्ण बहुमतको सरकार भत्काउन नपाएर असमान्य हुँदै जानु भएको देखिँदै छ ! खै के, खै के तपाईको खास कुरो यता वारिकाले त बुझिनसक्नु छ, उता पारिकाले जम्मै बुझेका छन् कि क्या हो ?

अँ, केही समय भो, तपाईले मधेसतिरका पार्टीलाई निकै होडल्दै हुनुहुन्छ ! रोल्पा र रुकुमका धर्ती पुत्रका रगतले लतपतिएको रातो मुख लिएर अब ढुक्कसँग बसेका मधेशका अर्गानिक धर्ती पुत्रहरूलाई कोनि केके जाति भन्दै उफार्न थाल्नु भा छ रे ! तपाईलाई बाउराम नामका चारै अक्षरभित्र सिङगो मधेश अटाएको छ भनेर लाग्दो हो, (‘बा’ अर्थात् बाबुराम, ‘उ’ अर्थात् उपेन्द्र, ‘रा’ अर्थात् राजेन्द्र र ‘म’ अर्थात महन्त र महेन्द्र ।) नेपालको मुटु मधेशका आफ्ना गुनासा होलान् ! मधेशका नेता र जनतासँगको त्यो सामीप्य तपाईकै इतिहास हेर्दा क्षणिक हो भन्ने प्रस्टै छ । याद राख्नुहोला ! तपाईको अदृश्य शक्तिद्वारा सञ्चालित तपाईँको अतृप्त भोक मेट्न मधेशले दिने छैन ।

जब नेपाली नक्सामा राख्न पापीहरूले छुटाएको भूमिलाई नक्सामा समेट्ने हिम्मत सरकारले गर्यो र यसका लागि सिङ्गो राष्ट्र एक ढिक्का छ । प्रतिपक्षका राष्ट्रवादी नेताहरू डा.चन्द्र भन्डारी, डा.मिनेन्द्र रिजाल र अभिनेत्री मनिषा कोइरालाहरू यो सरकार प्रति गर्वको अनुभूति गरिहेछन्, तपाईको चित्त झिँगाको पित्त किन बनिरहेछ ? भौगोलिक राष्ट्रवाद भनेर के भन्न खोज्नु भएको हो ? के तपाईले नेपाललाई भूगोल बिनाको राष्ट्र बनाउने सुर कस्नु भएको हो ? लिपुलेक नेपाली नक्सामा समेटिँदा तपाईको छाती किन छियाछिया हुन्छ ? मुटु किन कुटुकुटु खान्छ ?

हो, तपाईले बहुराष्ट्रवादका कुरा पनि गर्नु भएको छ । जहाँ अनेक संस्कृति, भाषा, रीतिरिवाज हुन्छन् र आफ्नो अलग्गै पहिचान हुन्छ ? तत् तत् समुदायका जनताका भाषा कला संस्कृति र पहिचानको सम्मान हुनुपर्छ र यही नै बहुराष्ट्रवादी सौन्दर्य हो । हाम्रो जस्तो अन्तर्घुलित समाजमा त्यस्तै विशेषतायुक्त राष्ट्रवाद चाहिन्छ । संविधानले त्यसलाई संबोधन गरेकै छ । केही असन्तुष्टि र गुनासा सम्बोधन गर्ने संवैधानिक मार्ग समेत प्रशस्त छँदै छ । तर तपाईको अहिलेको बेहोरा हेर्दा र भौगोलिक राष्ट्रवादको विरोध गरिरहँदा तपाईको बहुराष्ट्रवादी अवधारणा राष्ट्र खण्डीकारणको गुप्त योजनामा आधारित छ भनेर मान्छेले बुझ्न थालिसके ।

अँ, तपाईको घगडान विद्वत्ताको सिर्जनात्मक प्रयोग भैदिएको भए मुलुक कस्तो हुन्थ्यो ? तपाईले ध्वँस र विनाशका लागि मात्रै यसको प्रयोग गर्दा मुलुक कति पछाडि पर्यो ? यो विद्वत्ता अझै कति दुरुपयोग गर्नु हुन्छ ? अब त अति भो बाबुरामज्यू !!!!