१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बेलायतका नेपालीले कालापानी फिर्ता गर्न भारतीय प्रधानमन्त्रीलाई पठाए पत्र (फोटोफिचर)


९ जेठ, काठमाडाैँ । बेलायतमा रहेर नेपाली राजनीतिलाई सहयोग गरिरहेका राजनीतिक दल निकट संगठनहरु भारतद्वारा नेपाली भूभाग माथि गरिएको अतिक्रमणको विरोधमा एक ठाउँमा उभिएका छन् । भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा, महाकाली नदी हुँदै तिव्वतको मानसरोवर जाने सडक निर्माण गरेपछि बेलायतस्थित नेकपा, नेपाली काग्रेस, जनता समाजवादी पार्टी र राप्रपा पार्टी निकटका संगठनहरु एक ठाउँमा उत्रिएर भारतीय अतिक्रमणको विरोध गरेका हुन् ।

ती संगठनहरुले संयुक्त अधिराज्य बेलायतस्थित भारतीय हाई कमिसनमा हुलाकमार्फत संयुक्त रुपमा ज्ञापन पत्र पठाएका छन् । पत्राचार गरी भारतद्वारा नेपालको सीमा अतिक्रणको विरोध गर्नेमा नेकपा निकट प्रवासी नेपाली एकता मंच(ओएनयूएफ) युके, काग्रेस निकट नेपाली जनसम्पर्क समिति (एनपिसिसी) युके, जनता समाजवादी पार्टी निकट नेपाली समाज युके र राप्रपा निकट प्रवासी नेपाली एकता समाज युके छन् ।

ओएनयूएफ युकेका अध्यक्ष राजेन्द्र पुडासैनी, एनपिसिसी युकेका अध्यक्ष युवराज गुरुङ, एनएसयुकेका अध्यक्ष चन्द्रबहादुर गुरुङ र ओएनयूएस युकेका संस्थापक अध्यक्ष रोशन सापकोटाले संयुक्त रुपमा ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् । प्रवासी नेपाली एकता मंच युकेले आफूसहित अन्य राजनीतिक दलका निकट संगठनहरुले संयुक्त रुपमा कार्यक्रम गरेको ओएनयूएफका सचिव सुरेश गौतमले जानकारी दिए । एक साताअघि प्रवासस्थित एनपिसिसीहरुले संयुक्त रुपमा सीमा अतिक्रमणको विरोध गरिसकेका छन् । शुक्रबार रेनर्सलेनस्थित एक हुलाक कार्यालयमार्फत पठाइएको उक्त ज्ञापन पत्र भारतीय हाई कमिसन बेलायत (लन्डन) मार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरी पठाइएको छ । पत्रमा कुटनीति संवादमार्फत भारतले मिचेको भूमि फिर्ता गर्न आग्रह गर्दै नेपाल र भारतको ऐतिहासिक सम्बन्ध कायम राख्नु आग्रह गरिएको छ । वीनेपालीको सहयोगमा तयार पारिएको समाचार

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार २१:२२