१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

ओली सरकारको ऐतिहासिक निर्णय, लिम्पियाधुरासहितको नेपालको नक्सा जारी


५ जेठ, काठमाडौँ । सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गरेको छ । सोमबार साँझ आकस्मिक रूपमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नेपालको नयाँ नक्सा जारी गरेको हो । नयाँ नक्सामा भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एक इन्च भूमि पनि कसैले अतिक्रमण गर्न नपाउनै भन्दै पूर्खाले लडेर रक्षा गरेको भूमिको संरक्षण गर्ने बताउँदै आएका थिए ।

आइतबरकै मन्त्रिपरिषदको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले प्रस्ताव लगेकी थिइन । महत्वपूर्ण मानिएको प्रस्तावमा सोमबारको बैठकमा छलफल गरेर जारी गरिएको हो । नयाँ नक्सा आजैबाट प्रयोगमा आएको छ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले नक्सा अब सबैखालको प्रशासनिक प्रयोगमा ल्याउने जानकारी दिनुभएको छ । उहाँले सोमबार मन्त्रालयमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै अब सबैखालको प्रयोगमा नयाँ नक्सा आउने बताउनुभयो ।

परराष्ट्र मन्त्रालयको सहमतिसहित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले प्रस्तुत गर्नुभएको लिम्पियाधुरासहितको नयाँ नक्साको प्रस्ताव मन्त्रिपरिषदले पारित गरेको हो। मन्त्रिपरिषदको बैठकले सुगौली सन्धी अनुसारको नेपालको अन्तराष्ट्रिय सिमा कायम गर्दै नयाँ नक्सा जारी गर्ने प्रस्ताव गएको हो। १८१६ को सुगौली सन्धि लिम्पियाधुराबाट आउने नदी काली नदीलाई सीमा नदी मान्दै यो नक्सा तयार पारिएको छ । नेपाल आफैले पहिलो पटक लिम्पियाधुरासहितको नक्सा बनाएको हो। सरकारले नीति तथा कार्यक्रममा लिम्पियाधुरासहितको नक्सा जारी गर्ने घोषणा गरेका थियो। घोषणा गरेको ४ दिनमा सरकारले यो नयाँ नक्सा मन्त्रिपरिषदमा निर्णय गरिएको हो। भारतले १८१६ को सुगौली सन्धीको ५० वर्षपछि नक्सामार्फत अतिक्रमण गरेका थियो ।

सन १८५६ देखि ९५ वर्ष लगाएर एक दर्जन नक्सामार्फत काली नदीको नाम परिवर्तन गरी कुटियाङदी लेख्न थाल्यो र लिपुलेकबाट आउने नदीलाई काली लेख्न थालेको देखिन्छ। नेपाली भूमि कालापानीमा ६० वर्षदेखि भारतीय सेना बस्दै आएको छ। सन १९६२ मा भारत चीन युद्ध भएपछि सामारिक स्वार्थ देखेर भारतले कालपानीमा इन्डो तिब्बत बोर्डर पुलिस फोर्स (आईटीबीपीएफ) राख्दै आएको छ । कालापानीमा फौज राखेपछि विस्तारै भारतले आफ्नो ब्यारेक भन्दा पूर्व एउटा सानो काली नामको मन्दिर र कुण्ड बनाएर त्यहीबाट बग्ने कुलोलाई नक्कली काली नदी भन्दै नक्सा समेत जारी गरेको छ ।

भारतले गत कार्तिक १६ गते लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपाली भूमि भारतमा पारेर नक्सा जारी गरेपछि यसको विरोध हुँदै आएको थियो भने सरकारलाई संसदीय समितिहरु लिम्पियाधुरासहितको नक्सा जारी गर्न निर्देशन दिएका थिए। अहिले वैशाख १६ भारतले नेपाली भूमि लिपुलेक हुदै मानसरोवर जाने सडक निर्माण गरेको थियो।

भारतलाई त्यो भूमि नेपालको भएको भन्दै भारतलाई कुटनीतिक नोट पनि दिइसकेको छ। यसअघि सन २०१५ मे १५ मा भारत र चीनले लिपुलेकलाई द्धिपक्षिय व्यापार नाका बनाउने सहमति गरेका थियो। त्यस बेला नेपालले आफूलाई नसोधि आफ्नो भूमिलाई व्यापार नाका बनाउँने भन्दै विरोध जनाएको थियो । पछिल्लो समय भारतको दादागिरी बढेपछि सरकारले कडा प्रतिवाद गरेको छ । यही प्रतिवादकै क्रममा पहिलो पटक लिम्पियाधुरासहितको नक्साजारी भएको हो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार १९:४४