७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

लकडाउनमा बालबालिकाको समय सदुपयोग गर्ने ८ उपाय


– प्रा. डा. एकारत्न आचार्य 

विस्वमा फैलिएको कोरोना भाइरसको महामारीका कारणले धेरैजसो देशहरुका बालबालिका पनि घरमै बन्दाबंदिमा बस्नु परेको यो विषम परिस्थिति छ । ल त ल यस समयमा समयको सदुपयोग तथा अध्ययनमा निरन्तरता दिने धेरै उपायहरु छन् केहि सहज कामहरु यसरि अगाडी बढाउन है त नानी बाबुहरू !

१. यस समयमा बालबालिकाले एउटा छुट्टै कापीमा आफ्ना हरेक दिनका अनुभवहरुको संगालो बनाउने र दैनिकी लेख्ने बानीको विकास गरे समयको पनि सदुपयोग र लेखनमा अभ्यास भैरहन्छ । यसबाट आफ्नो जीवनी आफै लेख्ने बानीको विकास हुन्छ र अनुसन्धानमा चलेको विधा अटोईथ्नोग्राफीमा रहेर पछी अनुसन्धान गर्न पनि सहयोग गर्छ ।

२. नेपाली तथा अंग्रेजीजस्ता भाषाका बिषयमा चिठी लेख्न, निबेदन लेख्न अभ्यास गर्ने र यात्रा सस्मरण लेख्न थाले नि राम्रो हुन्छ । वा आँफुलाई लागेका केहि कुराहरु लेखौ है त !

३. स्वास्थय सम्बन्धि आफुले जानेका, सुनेका कुराहरु लेख्ने, चित्र कोर्ने र परिवारमा छलफल गर्ने गरौ है त।

४. विज्ञान तथा गणितमा भएका विकास र कामको लिस्ट बनाउने, यस्ता काम गर्ने वैज्ञानिक र गणितज्ञको जीवनी खोज्ने पढ्ने र परिवारमा छलफल गर्ने, सुनाउने, नेट आदिको सुबिधा भएमा साथीभाइलाई सेयर गर्ने गरौं, जस्तै: गोपाल दत्त पाण्डे, नयराज पन्त, चद्रकला देवी धनन्जय ।

५. सामाजिक जस्ता बिषयमा त झन् धेरै कुराहरु छन् नी त, समाजमा भए गरेका कामहरु टिप्ने, सुनाउने, कोरोना जस्तै बिगतमा फैलियाका महामारीको खोजि चर्चाले पनि त अरु ज्ञान दिन्छ नि, रितिरिवाज, चालचलन, चाडपर्ब-दशैँ, तिहार-काग तिहार, कुकुर तिहार, गाईतिहार, गोबर्धन पुजा, कुलपूजा, तीज, गुरुपुर्णिमा, आमाको मुख हेर्ने दिन, लोसार, बकर इद, माघी, चैते दशैँ, रामनवमी, फागु पुर्णिमा, नया वर्ष, साउने सक्रान्ति, क्रिस्मसडे, बालाचतुर्दशी, अरु तीम्रोतिर चल्ने चाड पर्वहरु, सोह्रश्राद्ध, ऋतु परिबर्तन र यसको महत्व आदि धेरै बिषयमा मन लागे अनुसार, लेखौ है त ।

६. स्वास्थको कुरा गर्दा त सरुवा रोग भनेको के हो? कुन रोग कसरि सर्छ? भाइरस भनेको के हो ? यी कति किसिमका होलान्, कसरि अरुलाई सर्छ ? कोरोना सम्बन्धमा त भाइबहिनीले धेरै जानिसक्यौ पनि। यसमा पनि निबन्ध, कथा, कविता, यसबाट बच्ने उपायमा धेरै लेख्न र अरुलाई भन्न सकिन्छ होइन र ? यस्ता प्रश्नको उत्तर त ताजै हुनु पर्छ होला ।

७. अब के बिषय छुट्यो भाइबहिनीले त्यसमा पनि विचार गरिहाल्नु हुन्छ नि होइन र !

८. अब के गर्ने भाइबहिनीहरुले नि आफ्ना बा आमा र बृद्ध हजुर बा हजुर आमा लाई नि के के गरेर समयको सदुपयोग गर्ने हो लिस्ट बनाई दिने कि ! ल त आज यति है त !

[समय उपयोग पनि हुने सिक्न नि सकिने र कसैकहाँ जान नि नपर्ने ल आनन्दले घरमै बसेर पढौ र रमाऔँ है त ।]
——भाइबहिनीको हितकारी साथी, एकारत्न आचार्य ।

(प्रा.डा. आचार्य शिक्षा शास्त्र केन्द्रीय विभाग-त्रि. वि.,किर्तिपुरमा कार्यरत हुनुहुन्छ)

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलवार ०७:१५