४ बैशाख २०८१, मंगलवार | Wed Apr 17 2024

काेराेना कहरः पर्यटन क्षेत्र ठप्प, ऋणको बोझ थपिएको व्यवसायीको गुनासो


– सुशीला रेग्मी
२३ वैशाख, रामपुर । मुलुकमा सङ्घीयताको कार्यान्वयनसँगै पाल्पाको पर्यटकीय विकासले गति लिएको अवस्थामा विश्वव्यापी फैलिएको कोरोना भाइरस सङ्क्रमणको असर देशका अरु क्षेत्रमा जस्तै यहाँको पर्यटनमा पनि परेको छ । पर्यटन क्षेत्रमा आशा एवं विश्वासकासाथ पछिल्लो समयमा ठूला लगानी भित्रिने क्रमले गति लियो र पर्यटकलक्षित होटल, रेष्टुरेन्ट खुल्ने क्रम पनि बढ्यो । साथै पर्यटकीय नगरी लुम्बिनी र पोखराको बीच भागस्थित पाल्पा भएर बाह्य पर्यटकको आवतजावतले पनि यहाँको पर्यटनमा चहलपहल थपेको थियो ।

हालसम्मको अवस्था हेर्दा लुम्बिनी र पोखरा आउने बाह्य पर्यटक पाल्पा घुमेर मात्र फर्कने गरेका छन् । विसं २०७२ मा आएको विनाशकारी भूकम्पको असरपछि पर्यटन पूर्वाधारका कार्य जिल्लामा एकपछि अर्को हुँदै अगाडि बढेको छ । भूकम्पको महामारी सहेका जिल्लाका व्यवसायीले भूकम्पपश्चात् पर्यटकको आवागमन बाक्लिँदै जाँदा पर्यटन व्यवसायीमा एक खालको खुशी तथा हौसला थपिएको थियो ।

यसरी बामे सर्दै गरेका पाल्पाका पर्यटन व्यवसायी अहिले भने कोरोना भाइरस सङ्क्रमण (कोभिड—१९) को मारमा परेका छन् । ठूलो लगानीमा पर्यटकलाई लक्षित गरी व्यापार व्यवसाय सञ्चालन गरेका पर्यटन व्यवसायीलाई कोरोनाको कहरले नराम्ररी छोएकोे छ । कोरोनाका कारण व्यवसाय नै ठप्प भएपछि होटल रेष्टुरेन्ट, घरबास (होमस्टे) को लगानी पनि यतिखेर निल्नु न ओकल्नुको अवस्थामा छ ।

पाल्पा जिल्लामा होटल व्यवसायी सङ्घमा एक हजार ६० होटल तथा रेष्टुरेन्ट सञ्चालनमा छन् । तीमध्ये पर्यटन व्यवसायलाई लक्षित गरेर एक सयको हाराहारीमा होटल तथा रेष्टुरेन्ट रहेका छन् । पर्यटकका लागि खोलिएका व्यवसायमा रु दुई करोडदेखि ५० करोडसम्मको लगानी परेको होटल व्यवसायी महासङ्घ पाल्पाका अध्यक्ष मोहन श्रेष्ठ बताउनुहुन्छ ।

“कोरोनाको कहरले समग्र पाल्पाको पर्यटन व्यवसाय नै धरापमा परेको छ, पर्यटन क्षेत्रमा भविष्य खोजेका र वैदेशिक रोजगारबाट स्वदेश फर्केका युवामा अहिलेको विश्व परिवेशले गर्दा व्यवसायबाटै पलायन हुनुपर्ने हो कि भन्ने स्थिति सिर्जना भएको छ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार यहाँ होटल तथा रेष्टुरेन्ट क्षेत्रमा घरपरिवारका सदस्यबाहेक करिब तीन हजार ५०० नागरिकले प्रत्यक्ष रोजगार पाएका छन् । यिनीहरुलाई काम गर्ने वातावरण नहँुदा साँभm बिहान गुजारा चलाउन अप्ठ्यारो छ ।

लगानी गर्ने वातावरण नेपालमा नहँुदा पनि बाहिरबाट आएका युवा पछिल्लो समय पर्यटन क्षेत्रमा लगानी गर्न कस्सिएका छन् । व्यवसायमा बामे सर्दै गरेको अवस्थामा लामो समयसम्म ढोका नै लगाएर व्यवसाय बन्द गरेर बस्नुपर्दा ऋणको बोझ थपिएको रामपुरका पर्यटन व्यवसायी शिव पाण्डेय बताउनुहुन्छ ।

उहाँले रु साढे दुई करोडको लागतमा पर्यटनलाई लक्षित गरेर नेपाल भ्रमण वर्ष २०२० को शुरुवातमै पौडी पोखरीसहितको नमस्ते होटल तथा रेष्टुरेन्ट एवं पार्टी प्यालेस सञ्चालनमा ल्याउनुभएको छ । शुरुवातीको क्रममा नै व्यवसायमा साँचो लगाउनुपर्ने अवस्था आउँदा समस्या परेको उहाँको गुनासो छ ।

उहाँ भन्नुहुन्छ, “रामपुरमा भित्रिएका पर्यटकलाई लक्षित गरेर व्यवसाय शुरु गरियो, प्रारम्भिक चरणमा नै व्यवसायमा नराम्रोसँग मार परेको छ, लगानी ठूलो छ तर व्यापार व्यवसाय ठप्प छ, लगानी गरेको ऋण र ब्याजले डुबाउने पिरलो परिरहेको छ ।”

कोरोना भाइरस सङ्क्रमणको त्रास शुरु भएदेखि व्यापारमा शून्य भएको अर्का व्यवसायी होटल न्यू श्रीनगरका सञ्चालक महेश श्रेष्ठ बताउनुहुन्छ । होटल श्रीनगर यहाँको पर्यटन क्षेत्रलाई मध्यनजर राखेर सञ्चालनमा आएको रामपुरको पहिलो होटलका रुपमा लिइन्छ ।

“ग्राहकको उपस्थितिले काममा भ्याईनभ्याई हुन्थ्यो, अहिले विगत दुई महिनायता भने व्यवसाय चौपट बनेको छ, बैंकबाट लिएको ऋण बुझाउन र कामदार पाल्न अप्ठ्यारो परेको छ”, श्रेष्ठले गुनासो पोख्नुभयो । उहाँको व्यवसायमा रु साढे तीन करोडभन्दा बढीको लगानी छ । पाण्डेय र श्रेष्ठजस्ता पर्यटन व्यवसायलाई लक्षित गरेर व्यवसाय सञ्चालन गरिरहेका एक सयभन्दा बढी व्यवसायी कोरोना भाइरस सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीको मारमा छन् ।

त्यस्तै पाल्पा र समग्र यस क्षेत्रको पर्यटकीय सम्भावनालाई लक्षित गरेर करोडौँ रकम खर्च गरेर स्तरीयखालका होटल, रेष्टुरेन्ट खुल्ने क्रम पाल्पामा बढ्दो छ । जिल्लामा पछिल्लो पाँच वर्षयता पर्यटन क्षेत्रमा ठूलो लगानी थपिएको छ ।

जिल्ला सदरमुकाम तानसेन बजारमा पर्यटकको बाक्लो उपस्थितिले होटल रेस्टुरेन्ट भरिभराउ हुन्थे । विगत दुई महिनायता भने व्यापार व्यवसाय ठप्प हँुदा पर्यटन सम्बद्ध व्यवसायीलाई कोरोनाको प्रभाले नराम्रोसँग असर गरेको छ । पर्यटकलक्षित खोलिएका घरबास (होमस्टे) पनि सुनासान छन् । बाह्य पर्यटक जिल्लामा भित्रिने क्रम बढ्न थालेपछि घरबास खोल्नेक्रम यहाँ होडबाजी नै चलेको छ । होमस्टे व्यवसायी सङ्घ पाल्पामा आबद्ध यहाँ सामुदायिक र निजी गरी १४ घरबास सञ्चालनमा छन् ।

सामुदायिकमा तानसेन नगरपालिका–१३ स्थित बौघागुम्बा, तानसेनकै दमकडास्थित सामुदायिक कृषि महिला, तिनाउ गाउँपालिकाभित्र सुकेताल, जन्तीलुङ्गमा रहेको लगाढ गरी पाँच सामुदायिक घरबास छन् । निजीतर्फ सदरमुकाम तानसेन बजारभित्र नौवटा घरबास सञ्चालनमा छन् । यी सबै घरबास स्थानीय ग्राहकभन्दा पनि पर्यटक लक्षित हुन् । घरबाटै बाहिर निस्कन नपाएपछि घरबास तथा अन्य व्यापार व्यवसाय प्रभावित बन्न पुगेको होमस्टे व्यवसायी सङ्घ पाल्पाका अध्यक्ष मनमोहन श्रेष्ठले बताउनुभयो । मानिस आवतजावत गर्ने वातावरण भएमात्र पर्यटनको विकास हुने हो तर अहिलेको अवस्था घरभित्रै बस्नुपर्ने अवस्थाले गर्दा पर्यटन क्षेत्र धरापमा परेको उहाँको भनाइ छ ।

पर्यटकको चहलपहल रहने नेपालकै ताजमहलका नामले प्रख्यात रानीमहल दरबार, एशियाकै ठूलो त्रिशूल भएको भैरवस्थान मन्दिर, श्रीनगरडाँडा, पाल्पा दरबार सङ्ग्रहालय, देशका एक सय पर्यटकीय गन्तव्यस्थलमा रुपमा सूचिकृत रामपुरको तालपोखरा, निस्दी गाउँपालिकाको काउलेडाँडा वन, रम्भा गाउँपालिकाको रम्भादेवी मन्दिरलगायत जिल्लाका धेरै पर्यटकीय क्षेत्र अहिले सुनसान छन् ।

कोरोनाको कहरले जिल्लाका पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न व्यापार व्यवसाय ठप्प छ । अन्य उद्योग व्यापार, व्यवसायको तुलनामा पर्यटन व्यवसायमा नराम्रोसँग असर पुगेको नाटाका सचिव सागरमान महर्जन बताउनुहुन्छ ।

“पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएका व्यवसायमा ठूलो लगानी लगाउनुपर्ने हुँदा बन्दाबन्दी खुले पनि बाह्य देशबाट पर्यटक छिट्टै भित्रिने अवस्था नरहेको हुँदा केही समय पहिलाको अवस्थामा आउन मुस्किल पर्ने देखिन्छ”, उहाँले भन्नुभयो ।

कोरोनाको अहिलेको सङ्क्रमण हटेर गए पनि यसको असर भने लामो समयसम्म रहने भएकाले पर्यटन व्यवसायी चिन्तित बनेका छन् । कोरोनाको कहरकै कारणले व्यवसायी पर्यटन क्षेत्रबाटै पलायन हुने अवस्था नआउला भन्न सकिन्न भन्दैछन् यहाँका यस क्षेत्रका व्यवसायी । त्यसैले पनि राज्यले हरेक क्षेत्रमा परेको असरको अध्ययन गरी सम्बोधन गरी निकासको बाटो देखाउनुपर्ने सम्बद्ध व्यवसायीको माग छ ।

यहाँका ढाका उद्योग, हस्तकलाका उद्योगलगायतका विभिन्न साना तथा ठूला व्यवसाय पनि नराम्ररी प्रभावित भएका छन् । ढाका उद्योेगबाट उत्पादित विभिन्न सामग्री पर्यटकले कोसेलीका रुपमा लैजाने गरेका छन् । विदेशी पर्यटकले ठूलो परिमाणमा ढाका कपडा खरिद गर्ने भएकाले व्यापारीलाई राम्रो आम्दानी गर्ने अवसर पनि हुन्छ । पर्यटकलाई लक्षित गरी ढाका कपडा उत्पादन गरेका व्यवसायी पनि कोरोनाको प्रकोपका कारण समस्यामा परेको बताउँछन् ।

अन्तर्राष्ट्रियस्तरमा नै पहिचान बनाएको पाल्पाली ढाकाले आन्तरिक मात्र नभई बाह्य पर्यटकलाई लोभ्याएको छ । ढाका कपडाबाट उत्पादित झोला, टोपी, आस्कोट, गलबन्दी, रुमाललगायतका सामान पर्यटकको रोजाइमा पर्छन् ।

सङ्घीयताको कार्यान्वयनसँगै स्थानीय सरकारले पर्यटन क्षेत्रको विकासमा जोड दिएका छन् । स्थानीय सरकार स्थापित भएपछि गाउँका पर्यटन क्षेत्रमा चहलपहल पनि बढ्दै गएको छ । पर्यटक लक्षित कार्यक्रम अगाडि सारेको समयमा आएको कोरोना भाइरसको सङ्क्रमणले गर्दा देशको अरु क्षेत्रभन्दा अझ बढी पर्यटन क्षेत्र प्रभावित भएको छ । स्थानीय सरकारका पर्यटनसम्बन्धी कार्यक्रम पनि यतिबेला स्थगित हुन पुगेका छन् । रासस

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलवार १५:०३