१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

सन् २०१७ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ६ हजार ५९ जना पीडित


–पवित्रा मुडभरी

७ फागुन, काठमाडौँ । सन् २०१७ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ६ हजार ५९ जना पीडित भएको तथ्यांक सार्वजनिक भएको छ । सोमबार मानवअधिकार वर्ष पुस्तक २०१८ सार्वजनिक गर्दै इन्सेकले अघिल्लो वर्षको तुलनामा १ हजार ५ सय ५७ ले मानिसहरु पीडित भएको जनाएको छ । यस वर्ष राज्य पक्षबाट ८६ महिलासहित ७ सय ७७ जना तथा गैरराज्य पक्षबाट ४ हजार ५ सय ७९ महिलासहित ५ हजार २ सय ८२ जना पीडित भएको अभिलेख गरियो । सन् २०१७ मा सुरक्षाकर्मीको गोली प्रहारबाट देशभरमा ११ जनाको मृत्यु भयो ।


यो वर्ष यातनाका घटनामा सात, भेला तथा सङ्गठित हुने अधिकारका घटनामा राज्यपक्षबाट १ सय ६७ र गैरराज्यपक्षबाट चार जना गरी १ सय ७१ जना, कुटपिटका घटनामा राज्यपक्षबाट ७९ जना र गैरराज्यपक्षबाट ३ सय ६४ जना गरी ४ सय ४३ जना पीडित भएको तथ्यांकमा उल्लेख गरिएको छ । यसैगरी जातीय विभेदका घटनामा ४५ जना पीडित भएका छन । यस वर्ष बलात्कारका घटनामा २ सय ६५ जना, बोक्सी आरोपमा ३३ जना, यौन दुव्र्यवहारमा ४४ जना, बलात्कार प्रयासका घटनामा १ सय २२ जना, बेचबिखन प्रयासका घटनामा ७३ जना र बेचबिखनका घटनामा ४० जना महिला पीडित भएका छन ।


इन्सेकका ७५ जिल्ला प्रतिनिधिले देशका ७७ जिल्लाका प्रहरी कार्यालयमा रहेका महिला तथा बालबालिका सेवा केन्द्र अनुगमन गरेर प्रतिवेदन तयार पारेको जनाएको छ । इन्सेकले घरेलु हिंसा नियन्त्रण तथा सजाय ऐनमा रहेको मेलमिलापसम्बन्धी व्यवस्थाअनुसार घरेलु हिंसाका घटनामा मिलापत्रलाई प्राथमिकता दिनुपरेको प्रहरी कार्यालयहरूले बताएको पनि जनाएको छ । यो ऐनको कमजोरीको फाइदा उठाउँदै जघन्यखालका घरेलु हिंसाका घटनामा पनि मेलमिलाप गर्ने परिपाटी यस वर्ष पनि देखिएको इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले जानकारी दिए ।


इन्सेकले मानव अधिकार अनुगमन प्रतिवेदनको रूपमा सन् १९९२ देखि नेपाल मानव अधिकार वर्ष पुस्तक बर्सेनी प्रकाशन गर्दै आएको अध्यक्ष प्याकुरेलले जानकारी दिए । वर्ष पुस्तकले सन् २०१८ सम्म आइपुग्दा २६ औँ बसन्त पार गरेको भन्दै प्याकुरेलले निजी क्षेत्रमा यति लामोसमयसम्म यसरी पुस्तक प्रकाशन गर्ने संस्थामा इन्सेक अग्रणी रहेको भन्दै गर्व गरे । इन्सकेकका कार्यकारी निर्देशक विजयराज गौतमले सन् २०१४ देखि नेपाल मानव अधिकार वर्ष पुस्तकमा प्रतिनिधिमूलक घटनाहरूमात्र प्रकाशन गर्न सुरू गरिएको जानकारी दिए । अभिलेख गरिएका सबै घटना प्रकाशन गर्दा पुस्तकको आकार बढ्ने भएकाले विवरणहरू इन्सेकको अभिलेखमा सुरक्षित राखिएको र आवश्यकपर्दा दिन सकिने उनले बताए । ललितपुरको होटल हिमालयमा भएको कार्यक्रममा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलले वर्ष पुस्तक सार्वजनिक गरेकी थिइन । वर्ष पुस्तकको सम्पादन मदन पाैडेलले गरेका छन ।

प्रकाशित मिति : ७ फाल्गुन २०७४, सोमबार २०:२१