१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

सिण्डिकेट अपराध हो, अपराधीलाई कार्वाही हुन्छ : गृहमन्त्री थापा


२७ कात्तिक,म्याग्दी। गृहमन्त्री रामबहादुर थापाले सिण्डिकेट कानुनी रुपमा अपराधमा परिभाषित भएकाले सिण्डिकेट गर्ने अपराधिलाई कार्वाही गरिने बताएकाछन् । म्याग्दी कोरला यातायात प्रालिद्वारा सञ्चालीत सुविधायुक्त बेनी–काठमाडौं बस सेवाको मङ्गलबार शुभारम्भ गर्दै उनले सिण्डिकेटको पूर्ण रुपमा अन्त्य गर्ने बताएका हुन् ।

गृहमन्त्री थापाले कानुनी रुपमा सिण्डिकेट अन्त्य भए पनि व्यवहारमा अझै रहेको हुँदा यसको अन्त्यका लागि सरकारले ध्यान दिइरहेको बताउनुभयो । उहाँले सिण्डिकेट गर्नु गैरकानुनी भएको र आपराधिक गतिविधि भएको कारण अपराधीलाई राज्यले सजाय दिने आश्वासन दिनुभयो ।

यातायातका क्षेत्रमा रहेको सिण्डिकेटको अन्त्य र व्यवस्थापनका लागि यातायात मन्त्रालयले कार्यदल गठन गरेको बताउँदै गृहमन्त्री थापाले कार्यदलमार्फत काम अगाडि बढाइएको जानकारी दिए ।

उनले देशको सबै ठाउँमा सिण्डिकेट रहेकाले विकासले गति लिन नसकेको बताउँदै सबै ठाउँमा भएको सिण्डिकेटको अन्त्य गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘सिण्डिकेट यातायात, शिक्षा, स्वास्थ्य र विद्युतलगायत सबै ठाउँमा छ, सबै मिलेर यसको अन्त्य गर्नुपछ ।’

देशलाई गरिबी र दरिद्र बनाउन सिण्डिकेटले भूमिका खेलिरहेको उनको भनाइ छ । गृहमन्त्री थापाले सबै मिलेर देश विकासमा लाग्नुपर्ने बताउँदै समृद्ध नेपाल र सुखी नेपाली बनाउने सरकारको लक्ष्य भएको बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०७५, मंगलवार २०:०९