१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेपाल वायुसेवा निगमलार्इ स्तरीय भाडादर कायम गर्न नाट्टाको अाग्रह (नाै बुँदे सुझावसहित)


४ असोज, काठमाडाैँ । नेपालको पर्यटन क्षेत्रको विकासका लागि छिमेकी मुलुक चीनका विभिन्न क्षेत्रमा हवाई सेवा विस्तार गर्नुपर्ने माग गरेको छ । नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल (नाट्टा)का अध्यक्ष सिएन पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार नेपाल वायुसेवा निगमका नवनियुक्त अध्यक्ष मदन खरेललाई भेटेर सो माग गरेका हुन् । नेपालको पर्यटन क्षेत्रको विकासका लागि राष्ट्रिय ध्वजावाहकको क्षमता अभिवृद्धि गर्न विदेशी विमान सेवासँग साझेदारीका लागि पहल गर्नुपर्ने माग नाट्टाको छ ।

नाट्टाले तेस्रो मुलुकलगायत युरोप, अमेरिकाजस्ता देशका शहरमा हाल नेपाल वायुसेवा निगमको सेवा नगण्य रुपमा रहेको हुँदा त्यस्ता गन्तव्यमा समेत सेवा विस्तार गर्न माग गरेको छ । नेपाल एयरलाइन्सको विज्ञापन रणनीति केही कमजोर रहेको भन्दै नाट्टाले नयाँ प्रविधिको उच्चतम उपयोग गर्दै बजारमा प्रभावकारी उपस्थित देखाउनुपर्नेमा जोड दिएको छ ।

निगमद्वारा प्रदान गरिने आन्तरिक हवाई सेवाको भाडादर महँगो भएको तथा प्रमुख पर्यटकीयस्थलमा जानसमेत नमान्ने भन्दै नाट्टाले सहज सेवा प्रदान गर्न तथा स्तरीय भाडादर कायम गर्न निगमसंग आग्रह गरेको छ । यस्तै वायुसेवा निगमबाट सञ्चालित उडान ढिला भएको भन्दै यसको सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ ।

नाट्टाका प्रथम उपाध्यक्ष अच्युत गुरागाईंले छिमेकी मुलुक चीनका विभिन्न शहरमा उडान भर्दा जहाज महँगो भएको भन्दै नेपाल वायुसेवा निगमले उडानलाई विस्तार गर्नुपर्ने विषयमा छलफल भएको बताए । ‘नेपाल वायुसेवा निगमले चीनसँगै सिधै उडान भरे नेपालमा चिनियाँ पर्यटक धेरै भित्र्यउन सकिन्छ,’ उनले भने । सो अवसरमा निगमका अध्यक्ष खरेलले नाट्टाले राखेको माग यथाशक्य चाँडो सम्बोधन हुने बताए । उनले नेपालको पर्यटन क्षेत्रको विकासका लागि नेपाल वायु सेवा निगमले विभिन्न मुलुकमा सेवा विस्तार गर्ने धारणा व्यक्त गरे ।

 

प्रकाशित मिति : ४ आश्विन २०७५, बिहीबार २३:०८