नुवाकोटका औषधि व्यापारीको दादागिरी, जरिवाना तिर्नुको साटो अनुगमन टोलीलाई चेतावनी
२४ असोज, नुवाकोट । नुवाकोटमा औषधि व्यापारीले दादागिरी देखाइरहेका छन । संयुक्त अनुगमन टोलीले अनुगमन गरेर मापदण्ड अनुसार नभएका केही पसललाई जरिवाना र केहीमा सिल गरेपछि नेपाल औषधि व्यवसायी संघ नुवाकोटले विज्ञप्ति नै निकालेर अनुगमनका क्रममा गरिएका निर्णय सच्चयाउन प्रमुख जिल्ला अधिकारीलाई चेतावनी दिएको छ ।
विदुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष समेत रहेका औषधि व्यवासयी संघ नुवाकोटका अध्यक्ष टलकमान श्रेष्ठ शुक्रबार विज्ञप्ति प्रकशित गर्दै औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त अनुगमन टोलीले गरेको निर्णय सच्चाउनुपर्ने बताएका छन । श्रेष्ठ अनुगमन टोलीले दुइ लाख रूपमा जरिवाना गरेको सम्मान मेडिकल हलका सञ्चालक हुन ।

यसअघि जिल्लामा विभिन्न औषधि पसलको अनुगमनका क्रममा पाँच वटा औषधि पसललाई रु दुई लाखका दरले जरिवाना गराइएको थियो । औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त अनुगमन टोलीले बिहीबार गरेको अनुगमनमा सदरमुकाम विदुर क्षेत्रका पाँच वटा औषधि पसललाई रु दुई लाखका दरले जरिवाना तिराइएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिए ।
विदुर नगरपालिका २ बट्टारमा रहेको सापकोटा मेडिकल हल, विदुर नगरपालिका–४ वट्टारमा रहेको सम्मान मेडिकल हल, बट्टार पोलिक्लिनिक तथा अञ्जना मेडिकल हल, विदुर फार्मेसी र विदुर नगरपालिका– १ ढुङ्गेमा रहेको समीर फार्मेसी गरी पाँचवटा औषधि पसलले बिलबीजक जारी नगरी औषधि बिक्री गरेको पाइएकोले उपभोक्ता हित संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना तोकी ७ दिन भित्र जरिवाना रकम बैंक दाखिला गरी एकप्रति जिल्ला प्रशासन कार्यालय नुवाकोटमा बुझाउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।
यस्तै, संयुक्त अनुगमन टोलीले म्यागङ गाउँपालिकाका औषधि पसलहरुको अनुगमन गर्नेक्रममा मापदण्ड विपरित सञ्चालन गरेको पाइएकोले सिलबन्दी गरिएको छ । म्यागङ गापा–३ मा सञ्चालित मेडिकल तथा फार्मेसी अनुगमन गर्ने क्रममा सोही वडामा सञ्चालनमा रहेको छाँयानाथ मेडिकल हल र देउराली फार्मेसी हल दर्ता नभई मापदण्ड विपरित सञ्चालनमा रहेको पाईकोले सिल गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसैगरी तादी गाउँपालिकाको खरानीटारमा रहेको तादी फर्मा र दुप्चेश्वर फार्मेसी मा खरिद विल नभएको पाइएकोले रु १० हजार जरिवाना गराइएको जिल्ल प्रशासन कार्यालयले छ । 
प्रकाशित मिति : 14:25









