७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

त्रिभुवन विमानस्थलमै दमकलको अभाव


– रमेश लम्साल र सिबी अधिकारी

२२ जेठ, काठमाडाैँ ।  मुलुकको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि राखिएको दमकल पुरानो भएका कारण अत्यावश्यक सेवाका लागि समस्या पर्ने देखिएको छ । विमानस्थलमा रहेका पाँच वटा दमकलमध्ये दुई वटा दमकल पुरानो छ । तीमध्ये एउटा २५ वर्ष पुरानो हो भने अर्को २२ वर्ष पुरानो हो ।

बाँकी रहेका तीन वटा दमकलले विमानस्थलको समग्र अग्नि नियन्त्रणको काम गर्नुपरेको छ । गत फागुन २८ गते बंगलादेशी वायु सेवाको युएस बंगला विमान दुर्घटना तथा गत वैशाख ७ गते राति मलेसियन वायु सेवाको मालिन्दो एयर दुर्घटना भयो ।

विमानस्थलमा २४सै घण्टा तम्तयारी हालतमा दमकल राख्नु पर्छ तर दमकलको अभावमा अत्यावश्यक समयमा सेवा दिनसमेत समस्या पर्नेमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उद्धार तथा अग्नि निवारण महाखाशाका अनुसार दुई वटा दमकल काम नलाग्ने अवस्थामा पुगेका हुन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्डअनुसार कम्तीमा तीन वटा दमकल विमानस्थलमा आवश्यक हुन्छ । क्यानिडा कम्पनीको २५ वर्ष पुरानो एउटा र अर्को रोजनवर्गको २२ वर्ष पुरानो दमकल काम नलाग्ने अवस्थामा पुगेका हुन् ।

फाइल फोटो ।

विमानस्थल सुधारका लागि सरकारले गठन गरेको विज्ञ समूहले समेत विमानस्थलमा रहेको अग्नि नियन्त्रक सामग्रीमा रहेको कमीप्रति चिन्ता व्यक्त गर्दै तत्काल उपलब्ध गराउन सरकारलाई सुझाव दिएका छन् । दमकल नै काम नलाग्ने अवस्थामा पुगेको भन्दै उनीहरुले थप चार वटा अग्नि नियन्त्रक सामग्री खरिद गर्न सरकारलाई सुझाव दिएका हुन् ।

विमानस्थललाई चुस्त, प्रभावकारी, भरपर्दो बनाउँदै संवेदनशील विषयसँग जोडिएका उपकरण खरिदमा लापरवाही नगर्नसमेत सुझाव दिइएको छ ।

विज्ञ समूहका सदस्य एवं उड्डयन क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव संगालेका जानकार कमलप्रसाद रिमाल भन्नुहुन्छ, “विमानस्थलमा हुने दुर्घटनाको जोखिमलाई ध्यान दिँदै कम्तीमा पनि चार वटा अग्नि नियन्त्रक तम्तयारी अवस्थामा राख्नु पर्छ ।

संसारभर नै हवाई यात्रुको संख्यामा बढोत्तरी हुँदै गएको र त्यसको प्रभाव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत पर्ने भएकाले भौतिक पूर्वाधारको विकास तथा सुरक्षात्मक उपाय अपनाउनुपर्ने र कुनै पनि कमजोरी गर्न नहुने रिमालको भनाइ छ ।

यस्तै हवाई क्षेत्रका जानकार दीपेन्द्रमान श्रेष्ठ अग्नि नियन्त्रक एवं अन्य भौतिक पूर्वाधारमा ध्यान दिनुपर्ने बताउनुहुन्छ । “बिग्रिएका दमकल राखेर भएन, तत्काल नयाँ दमकल खरिद गर्नुपर्छ”, उहाँको भनाइ छ ।

विमानस्थलको उद्धार तथा अग्नि निवारण महाशाखाका प्रमुख सरोज पोखरेल हाल विमानस्थलमा तीन वटा दमकल तथा अग्नि नियन्त्रक उपकरण तम्तयारी हालतमा रहने गरेको जानकारी दिनुुुहुन्छ ।
कूल पाँच वटामध्ये दुई वटा पटक पटक मर्मत गर्नुपर्ने भएकाले नयाँ खरिदका लागि आवश्यक प्रक्रिया शुरु गरिएको उहाँको भनाइ छ ।

विमानस्थलले नयाँ दमकल खरिदका लागि ठेक्का नै शुरु गरिएकोे छ । अर्को अग्निनियन्त्रकका लागि आगामी आवमा बजेट उपलब्ध गराइदिन प्राधिकरणलाई आग्रह गरिएको छ । विमानस्थलमा तीन वटा एम्बुलेन्स छन् । थप एम्बुलेन्स खरिदका लागि प्रक्रिया शुरु गरिएको छ । विगतका केही दुर्घटनाको अनुभवका आधारमा उद्धारका लागि विमानस्थल आसपासमा ठूला सवारी सञ्चालन हुन सक्ने सडक आवश्यक पर्ने देखिएको प्रमुख पोखरेल बताउनुहुन्छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री भने विमानस्थलमा दमकल अभाव रहेको भन्ने भनाई सत्य नभएको बताउनुहुन्छ । “जति बढाउन सक्यो, त्यति राम्रो हो । उपलब्ध भएकालाई तन्दुरुस्त अवस्थामा राखेका छौँ । नयाँ खरिदका लागिसमेत प्रक्रिया शुरु भएको छ”, उहाँ भन्नुहुन्छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी हवाई सुरक्षाको विषय अन्तर्राष्ट्रिय रुपमै चासो र संवेदनशील भएकाले कुनै पनि कमजोरी गर्न नहुनेमा जोड दिनुहुन्छ ।

विमानस्थलाई साधन स्रोत र भौतिक पूर्वाधार सम्पन्न बनाउने लक्ष्यका साथ सरकार लागिपरेको र विज्ञ समूहले दिने सुझावका आधारमा काम अगाडि बढ्ने उहाँ स्पष्ट पार्नुुहुन्छ ।

२१ घन्टाको सञ्चालनले ल्यायो सहजता

यही जेठ ७ गतेदेखि सञ्चालनमा ल्याइएको विमानस्थलको सेवा थप सहज भएको छ । विमानस्थलमा रात्रिको समयमा अवतरण हुने जहाज ‘होल्ड’ हुने समस्यामा केही कमी आएको छ । मध्यरात १२ बजेपछि भने कुनै पनि जहाज उडान तथा अवतरण हुने गरेका छैनन् । उडान तालिका मिलाउन केही समस्या भएका कारण आगामी केही समय विमानस्थल २१ घण्टा सञ्चालनमा आए पनि रातको समयमा भने उडान थपिएका छैनन् ।

एक्काइस घण्टा विमानस्थल सञ्चालनपछि केही सहजता आएको जानकारी
महाप्रन्धक क्षेत्री दिनुहुन्छ । उडान तालिका मिलाइएपछि रातको समयमा समेत अन्तर्राष्ट्रिय उडान तथा अवतरण हुने उहाँको भनाइ छ । हाल विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ दुई नेपालीसहित ३० र आन्तरिकतर्फ २० वायु सेवा प्रदायकले सेवा दिँदै आएका छन् ।

–रासस

प्रकाशित मिति : २२ जेष्ठ २०७५, मंगलवार १७:३६